कञ्चनपुर। कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार रहेको आठौँ लालझाडी कप फुटबल प्रतियोगिता २०८० कात्तिक १५ गतेबाट सुरु हुने भएको छ । आइतबार आयोजक लालझाडी युवा क्लब ११ ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
कात्तिक २५ गतेसम्म सञ्चालन हुने मोहन स्मृति गुरुङ आठौँ लालझाडी कप फुटबल प्रतियोगिताको आइतबार ट्रफी पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार ,उत्कृष्ट खेलाडीले २० हजार पुरस्कार पाउने क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी दिए । उनका अनुसार उत्कृष्ट फर्वाड,उत्कृष्ट मिडपिल्डर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक,सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सय प्राप्त गर्नेछन्।
यस वर्ष प्रतियोगितालाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले मुख्य प्रवर्धक रहेर साथ दिनेछ भने सह प्रवर्धकमा पुनर्वास नगरपालिका १० नम्बर वडा रहेको छ । सुरुवाती चरणमा खसी बोका बाट पुरस्कार सुरु गरेको यस प्रतियोगिताले अहिले कञ्चनपुरकै सर्वाधिक धनराशिको बन्न पुगेको क्लबले जनाएको छ। आठौँ लालझाडी कपमा १६ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा कञ्चनपुर जिल्ला भित्रका क्लबहरूले मात्र इन्ट्री पाउनेछन् भने प्रत्येक टिमले चार जना खेलाडीहरू जिल्ला बाहिरबाट पनि खेलाउन पाउने अध्यक्ष बोहराले जानकारी दिए।
अझै विकसित गरेर आगामी वर्षमा प्रदेश स्तरीय बनाउने सोच रहेको उनको भनाई थियो । प्रतियोगितामा सहभागिताको लागी प्रवेश शुल्क १० हजार तोकेको छ । इन्ट्री गर्ने समय कात्तिक १२ गते साँझ ५ बजेसम्मलाई तोकिएको छ । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दीपक सिंहले क्लबले गरेको कायले क्लबलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले यस वर्ष मुख्य प्रवर्धकको रुपमा रहेर साथ दिएको बताए । उनले आगामी वर्षहरूमा क्लबको मूल्याङ्कन हेरी सहयोग गर्न सकिने समेत बताए । यस्तै उनले क्लबले खेलाडी उत्पादन गरेकोको धन्यवाद समेत दिए।