कैलाली। नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व चयनका विषयमा नेताहरू छलफलमा जुटेका छन् । ५ पदाधिकारीमा २३ जनाको उम्मेदवारी परेपछि निर्वाचन हुने करिब पक्का भएको छ । तर, केन्द्रले सहमतिमा नेतृत्व टुंगो लगाउनुपर्ने बताएपछि अहिले फेरि नेताहरू छलफलमा जुटेका छन् ।
‘प्रदेशका नेताहरु पनि सर्वसम्मत गर्ने पक्षमा हुनुहुन्थ्यो । उम्मेदवारी धेरैको परेपछि करिब चुनाव हुने पक्का भइसकेको थियो । तर, केन्द्रीय नेतृत्वले सर्वसम्मतकै लागि फेरि पहल गर्ने भनेपछि अहिले अन्तिम प्रयास जारी छ’, प्रदेशका एक नेताले भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उद्घाटन सत्रमा प्रदेशको नेतृत्व सर्वसम्मत चयन गर्न सुझाव दिएका थिए ।
ओलीले महासचिवलाई सर्वसम्मतको पहल गर्न जिम्मा लगाएर आफू सोही दिन काठमाडौ लागेका थिए। पोख्रेलले पनि जिल्लाका इन्चार्ज तथा अध्यक्षसँग छुट्टाछुट्टै भेटेर सुझाव लिएका थिए । त्यसबाट पनि निचोड नआएपछि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचनको बाँकी काम केन्द्रीय सचिव छबिलाल विश्वकर्मा र लेखराज भट्टलाई सुम्पिएर महासचिव पोखरेल पनि हिजै दाङ लागेका थिए ।आज बिहान उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी फिर्ता लिन साझ ७ः३० बजेसम्मको समय छ । त्यसभन्दा पहिले नै सहमतिको प्रयास गर्ने तयारी भइरहेको छ।
प्रदेश अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, वचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ । उनीहरुबीच सहमतिको प्रयास भइरहेको जनाइएको छ । अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ ।‘सहमति नभए निर्वाचन हुन्छ । तर, अहिले अन्तिमसम्म सहमतिको प्रयोग भइरहेको छ’, प्रदेशका एक नेताले भने ।अहिले केन्द्रीयद्वय भट्ट र विश्वकर्मा, स्थायी कमिटी सदस्य कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायतका नेताहरूले सहमतिको प्रयोग गरिरहेको एमाले स्रोतले बतायो।नेपाल प्रेसबाट


