धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास गरेपनी अन्ततः सहमति नजुट्दा भोलि (मंगलबार) निर्वाचन हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयासमा लागेका थिए।
आकांक्षीहरूका बीचमा सहमति हुन सकेन। सुदूरपश्चिम प्रदेशको अधिवेशनमा नेतृत्वका लागि तीनजना आकांक्षी देखिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको लागि अकांक्षी देखिएका हुन् ।
धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलले नेतृत्वमा सहमति जुटाउन सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल अघि बढाएपनि सहमति जुट्न नसकेको एमालेका एक नेताले बताए ।महासचिव पोखरेलले छलफलपछि सहमतिका खाका बनाउने जिम्मा केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई दिएका थिए। ती नेताले सहमतिको अन्तिम प्रयास जारी रहेपनी आकांक्षीहरूकाबीच अझै कुरा मिल्न नसकेकाले निर्वाचन प्रक्रिया जाने निश्चीत भएको बताए।
अधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।निर्वाचन समितिले प्रारम्भिक तालिका सार्वजनिक गरेको हो। जसअनुसार आज बेलुका ६ बजे मतदाता नामावली प्रकाशन हुनेछ । कार्यतालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म उमेदवारी दर्ता गरिनेछ। मतदान मंगलबार बेलुका ५ बजे हुने उल्लेख छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएपछि नेताहरू दबाबमा छन्। आइतबार साँझ बन्द सत्रलाई थाति राखेर नेताहरूले सहमतिका लागि प्रयास गरेका थिए तर आकांक्षीहरूका बीचमा सहमति हुन सकेन। 


