धनगढी। कैलालीको गोदावरीबाट १ सय ७ थान सालको कडीसहित ३ जना पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट सात फिट लम्बाइ र ३र४ इन्च चौडाइ भएका कडीसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार प्रहरी सहायक निरिक्षक धर्मराज भट्टको कमाण्डमा रहेको प्रहरी टोलीले उनीहरूलाई ट्रकमा सालका कडी ढुवानी गर्दा गर्दै पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१५७ नम्बरको ट्रकका चालक बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का २५ वर्षीय सिद्धराज भट्ट, सोही ठाउँका ट्रकका साहु ४२ वर्षीय देवराज भट्ट र काठका साहु २८ वर्षीय मदन छेडाल पक्राउ परेका हुन्। छेडाल गोदावरी नगरपालिका वडा नम्बर ८ का स्थानीय हुन्।
आइतवार बिहान ४ बजेको समयमा तीन लाख मूल्यका सालका कडी, ट्रक र तीन जनालाई पक्राउ गरिएको हो। घटनाको थप अनुसन्धान जारी छ। प्रहरीले अनुसन्धान सकेर कारबाहीका लागि वन कार्यालयमा बुझाउने तयारी भैरहेको जनाएको छ ।