धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी पुरा भएको छ। भोली आइतबार दिउँसो १२ बजेदेखि शुरु हुन लागेको प्रदेश अधिवेशनको सम्पूर्ण तयारी भएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो।
धनगढीको सौराई प्यालेसमा हुने सुदूरपश्चिमको प्रथम अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। तीन दिनसम्म चल्न प्रदेश अधिवेशनका लागि अध्यक्ष ओली र महासचिव शंकर पोख्रेल लगाएतका नेताहरु धनगढी आउने भएका हुन। सुदूरपश्चिममा ६७५ प्रतिनिधिको सहभागिता रहने एमालेले बताएको छ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले प्रथम प्रदेश अधिवेशनका लागि छनौट भएका ९ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेको बताए। उनले १२ बजे भित्र प्रदेश अधिवेशनको उद्घाटन सत्र सुरु हुने बताए। भण्डारीका अनुसार प्रदेश अधिवेशनमा आर्थिक र राजनीतिक प्रतिवेदन पेसपछि नयाँ कमिटि चयनको प्रक्रिया सुरु हुनेछ।ओलीसंगै पार्टीका महासचिव शंकर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वर्मा, स्थायि कमिटि सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायि कमिटि सदस्य तथा खेलकूद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रिय सदस्यहरु अधिवेशनको समुदघाटन कार्यक्रममा सहभागि रहने छन् । नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् । पार्टी प्रदेश अध्यक्ष भण्डारीका अनुसार बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरि एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरि एक सय १७ जना प्रतिनिधि रहेका छन् । यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरि ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरि ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरि ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरि ५४ जना प्रतिनिधि रहेका छन् । यस्तै, बझाङबाट १३ महिला, २६ पुरुष र नौ दलित गरि ४८, डोटीबाट ११ महिला, २३ पुरुष र सात दलित गरि ४१, डडेल्धुराबाट पाँच महिला, १२ पुरुष र एक दलित गरि १८ जना प्रतिनिधि रहेका छन भने जनसंगठनबाट २५ महिला, ४३ पुरुष र सात दलित गरि ७५ जना प्रतिनिधि रहने छन् । आइतबारबाट शुरु हुन लागेको प्रदेशको अधिवेशनमा नेतृत्वका लागि तिन जना आँकाक्षी रहेका छन्। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको दौडमा रहेका छन्।