धनगढी। कैलालीको धनगढीबाट चार टन आलु बरामद गरिएको छ। आज शनिबार विहान १० बजे धनगढी उपमहानगरपालिका-४ चटकपुरस्थित दक्षिणकालीबाट भन्सार छलीको चार टन आलुसहित ट्रकचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाँके जिल्लाको रुपडिया नाकाबाट ल्याइएको अबैध आलु धनगढीबाट जफत गरिएको हो। आलुसहित युपी ७६ के ८२१४ नम्बरका ट्रकचालक भारत घरभई हाल धनगढी ४ दक्षिणकाली नजिक बस्ने ४७ वर्षीय संतिश गुप्तालाई नियन्त्रणमा लिएको जनाएको छ।३० टन आलु धनगढी ल्याइएको र २६ टन आलुको भन्सार काटेको पाइएपनि चार टन आलुको भन्सार नै नकाटेर भित्र्याएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले अबैध चार टन आलु, ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। २० लाखको ट्रक र आलुको मुल्य एक लाख ८० हजार गरेर २१ लाख ८० हजार बराबरको समान नियन्त्रणमा लिएको कैलाली प्रहरीले जनाएको छ। ट्रक र आलुलाई बरामद गरि कारबाहीका लागि त्रिनगर भन्सार कार्यालयमा बुझाइसकिएको र पक्राउ परेका गुप्तामाथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।