धनगढी। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको हो।
विभागले मनसुन सक्रियताको नक्सा नै जारी गरेर सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरिएको औपचारिक घोषणा गरेको हो। नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ।’यस वर्षको मनसुन असोज १९ गतेका दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भागबाट बाहिरिएको छ,’ विभागले विशेष बुलेटिन जारी गर्दै भनेको छ।
नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूर र कर्णालीबाट मनसुन बाहिरिए पनि आज (शनिबार) कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। यो वर्ष नेपालमा जेठ ३१ गते पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको थियो।
सरदर मितिभन्दा १ दिन ढिला गरी भित्रिएको मनसुन सरदर मितिभन्दा ४ दिन ढिला गरी बाहिरिन थालेको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टुबर २ तारिख हो। नेपालमा मनसुन पूर्वी क्षेत्र हुँदै प्रवेश हुन्छ भने बाहिरिँदा पश्चिम क्षेत्रबाट शुरु भएर पूर्वी क्षेत्रबाटै बाहिरिन्छ।