दार्चुला। दार्चुलामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कैलालीको धनगढीबाट खाद्यान्न बोकेर दार्चुला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको ब्रहमदेव तर्फ जाँदै गरेको से १ ज १२५२ नम्बर मिनी ट्रक राताकाठा भिरमा आज बिहान दुर्घटना भएको हो।
मिनी ट्रक दुहुँ गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने राताकाठा भिरबाट अन्दाजी दुई सय ५० मिटर तल महाकाली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दार्चुला दुहुँ गाउँपालिका-३ बोहोरी गाउँका अन्दाजी ४०/४५ वर्षिय करनसिंह बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।सवारी चालक भने अहिले फरार छन्। उनको खोजी भइरहेको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय हिकिलाबाट प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालको कमान्डमा ७ जना प्रहरी खटिएका छन्। दुर्घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।खलंगा क्षेत्रमा फोन नेटवर्कले काम नगर्दा थप जानकारी लिन कठिनाइ भइरहेको प्रहरीले बताएको छ ।