कैलाली। सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको प्रथम अधिवेशनको तयारी तीव्र बनाइएको छ। एमालेको प्रथम अधिवेशनका लागि प्रदेशका सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा प्रतिनिधि छनोट कार्य चलिरहेको हो । सुदूरपश्चिम प्रदेशमा यही २१ र २२ गते नेकपा एमालेको प्रदेश अधिवेशन धनगढीमा हुँदैछ।
सम्बन्धित क्षेत्रबाट चयन भएका प्रतिनिधिको नामावली सहजकर्ताले जिल्ला कमिटीमा पठाउनेछन् । जिल्ला कमिटीले प्रदेश कमिटीलाई पठाइ प्रतिनिधिबारे अन्तिम निर्णय प्रदेश कमिटीले गर्ने एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले बताए। हालसम्ममा प्रदेश अध्यक्षका लागी दुई जना चुनावी तयारीमा जुटिरहेका छन्। अध्यक्षमा अछामका कमल तिमिल्सेना र अछामकै कृष्णप्रसाद जैशीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
हालका अध्यक्ष रहेका दामोदर भण्डारी प्रतिनिधिसभा सदस्य रहेकाले विधिअनुसार उनी अध्यक्षमा उम्मेदवार बन्न पाउने छैनन्। भएपछि सकेसम्म सहमति नभएपनि तिमिल्सेना र जैशीबीच चुनावी प्रतिस्पर्धा हुने आन्तरिक चर्चा बढेको छ। तिमिल्सेना २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका हुन्।
आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वाभाविक दाबेदार भएको उनले बताए। उपाध्यक्ष भएर प्रदेशको काम गरेको अनुभव र पार्टीलाई अझ एकताबद्ध, पार्टीमा समन्वयकारी,संविधानको कार्यान्वयन, पार्टी भित्र दक्षिणपन्थी अवसरवाद, संरचनात्मक अराजकता हुन नदिन आफ्नो उम्मेदवारी भएको बताए। अध्यक्षका अर्का आकांक्षी जैशी अछाम जिल्ला विकास समितिको सभापति, पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ।
केपी शर्मा ओलीसँग तत्कालीन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका जैशी १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेफिकको सहअध्यक्ष थिए । नेकपा एमालेलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र एमालेको सरकार निर्माणको लागि आफूले प्रदेश अध्यक्षमा दाबी गरेको बताए। मिसन ८४ मा एमालेलाई प्रदेशको पहिलो पार्टी बनाउने र सरकार गठन गर्ने उद्देश्यसहित सल्लाह गरेर अध्यक्षमा उम्मेदवारी दिने बताए।
त्यस्तै नेकपा एमालेनिकट रास्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष बचनबहादुर सिंह पनि अध्यक्षका आकांक्षी हुन्। एमाले स्रोतकाअनुसार तिमिल्सेना र जैशीबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । अन्य आकांक्षीहरूलाई पदाधिकारीमा मिलाउने प्रयास छ । तिमिल्सेना र जैशी प्रदेश अध्यक्षको प्रतिस्पर्धा भन्दा नेकपा एमाले पार्टी कमिटी सर्वसम्मतरूपमा निर्वाचन हुनुपर्नेमा पक्षमा छ । हालका प्रदेश अध्यक्ष दामोदर भण्डारीले सुदूरपश्चिममा एमाले पार्टी बलियो बनाउन र सबैको भावना अनुसार अघि बढीरहेको भन्दै अधिवेशन सर्वसम्मतकै पक्षमा रहेको जानकारी दिए ।