काठमाडौँ। इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लोकेन्द्र कुमार पौडेल छन्।
यसअघि १३ भदौमा सीआईबीले कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरेको थियो। राहुल अहिले थुनामा छन्। अहिले पक्राउ गरिएका पौडेले चिनियाँ तस्कर दाओजिन वाङका चालक हुन्। दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन काठमाडौँमा ल्याएका थिए। सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएको छ।
प्राप्त कल डिटेल्स रेकर्ड अनुसार वाङ र राहुल बिच सुन तस्करी भएर आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन गर्दासम्म १९५ पटक कुराकानी भएको भेटिएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले भेप जफत गरेपछि ‘लिलामी’ गराउन राहुल निकै लागिपरेको विमानस्थल भन्सार कार्यालयका अधिकारीहरू बताउँछन्। विमानस्थल भन्सार कार्यालयका एकजना अधिकृत भन्छन्–‘भेप लिलाम गराउन त्यसबेला उनले अस्वाभाविक चासो राखेका थिए।’