काठमाडौं। भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन्। मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आममाफी नभइ कैद कट्टा मात्रै गरेको बताइन्।
उनले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ आफूहरुले नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन्। उनले कैद कट्टा गरेर छुटाउनु र आममाफी दिनु फरक भएको बताइन्।‘आममाफी एउटा छुट्टै कुरा हो।
अदालतबाट दोषी ठहर भएकालाई पनि आममाफी दिने भन्ने कुरा छ। र अहिलेको उसमा आममाफी नै दिइएको छैन । किनभने यो त कैद कट्टा गरिएको हो। कैद कट्टा गरेर छुटाइएको हो’, उनले भनिन्, ‘हामीले क्याबिनेट बैठक बस्दा पनि त्यो भनेको छैन। अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौँ। कारागारमा गइसकेपछि आफूले भोग्नु कानूनअनुसार भोग्नुपर्छ। यस पटक कसैलाई आममाफी दिइएको छैन। नबुझेको हो। कैद कट्टा हो।’