धनगढी। कैलालीको धनगढीस्थीत विपिन स्टेसनरीविरुद्ध एक जनाले सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएकी छिन्। गत साउन २५ गते निम्नमाध्यमिक तहको शिक्षक लाइसेन्सको फाराम भर्न पैसा बुझाएको तर सो स्टेसनरीले फाराम नभरेकाले ठगी गरेको भन्दै बाजुरा बुढीगङ्गा ९ की मनिषा शाहीले उजुरी दिएकी हुन्।
साउनमा लाइसेन्सको फाराम भरेको तर सोमबार प्रवेश पत्र ल्याउन जाँदा प्रवेश पत्र नमिलेपछि शाहीले स्टेसनरी सञ्चालक विरुद्ध उजुरी दिएको बताइन्। कात्तिक १८ निम्नमाध्यमिक तहको शिक्षकको लाइसेन्सको परीक्षाको मिति भए पनि विपिन स्टेसनरीले शाहीको फारामको शुल्क नबुझाएकाले प्रवेश पत्र नआएको हो।
विपिन स्टेसनरी सञ्चालक सन्तोष उप्रेतीले यो वर्ष ६ सय बढीको फाराम भरेको भए पनि शाहीको भौचर लगाउन छुटेकाले समस्या आएको बताए। उनले आफ्नोतर्फबाट गल्ती भएको स्वीकार गरेका छन् । शाहीले पनि फाराम भरिएको नभरिएको विषयमा भेरिफाइ नगर्दा दोब्बर दस्तुर तिरेर फाराम भर्ने म्याद गएको बताए।


