कञ्चनपुर। कञ्चनपुरस्थीत महाकाली नदीमा फसेका एक जना पूर्णागिरी दर्शनार्थीलाई उद्दार गरिएको छ । सोमबार साँझ डडेल्धुराको अमरगढी नगरपालिका–७ का ५२ वर्षीय दलबहादुर ठाडामगरलाई कञ्चनपुरको ब्रम्हदेवस्थित महाकाली नदीबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारतस्थित पूर्णागिरी मन्दिर दर्शनपछि पौडी खेलेरै महाकाली नदी तर्न खोजेका ठाडामगर नदीको बीच भागमा फसेका थिए । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा रहेका आफन्त दलबहादुर रोकायाको घरमा आउन नदी तर्दा उनी थाकेपछि नदीको बीच भागमा फसेका थिए । स्थानीय वासिन्दा र ईलाका प्रहरी कार्यालय ब्रह्मदेको टोलीले ठाडामगरलाई साँझ नै सकुशल उद्दार गरेर आफन्तलाई जिम्मा लगाएको बताइएको छ ।