धनगढी : सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले अब सुदूरपश्चिमबाटै पर्यटनमा क्रान्ती आउने दावी गरेका छन् । ४४ औँ अन्तराष्ट्रिय पर्यटन दिवश मनाउन तिन दिन पैदल हिनेर दार्चुलाको अपी हिमाल बेस क्याम्प पुगेका मन्त्री धामीले सुदूरपश्चिमबाटै पर्यटनमा क्रान्ती ल्याउने दावी गरेका हुन् । यसरी हिनेरै जनताका दुख सुन्दै कोही मन्त्री अपीमा पुगेको छैनन् होला मन्त्री धामीले भने “प्रदेश सरकारको प्रतीनिधी, पर्यटन हेर्ने मन्त्रीनै अपीको काखमा पुगेको छु, यहाँको पर्यटन बिकासमा केही काम गर्नकै लागी म यहाँ पुगेको हुँ, यहाँको बस्तु स्थिती बारे जानकारी पाए अब प्रदेश सरकारले अपीलाई महत्वका साथ हेर्ने छ ।”
निकै सम्भावना भएको अपी हिमाल अवलोकनका लागी पर्यटक तान्ने माध्यम प्रचार प्रसार र पुर्वाधार बिकासनै हो, उनले भने “तपाइहरु सबै प्रचार प्रसारमा लागिदिनुस प्रदेश सरकार स्थानिय तहहरु सित सहकार्य गरेर यहाँको बिकास गर्न तयार छ, म यहाँको पर्यटन बिकास संगै दुर्गम गाउँका सुबिधा बारे बिषेश ब्यवस्थाका लागी मन्त्रीपरिषदमा एजेण्डा लाने छु ।” बाटोमा आउँदा केही ठाउँमा पुल नयाँ हाल्नुपर्ने स्थिती रहेछ, केही ठाउँमा बाटोको समस्या रहेछ, यि समस्याको समाधान स्थानिय तहसंग सहकार्य गर्ने छौँ उनले भने “अपी हिमाल गाउँपालिकाको केन्द्र सम्म समेत सडक नपुगेको बुरालाई म बिषेश उठाउने छु, प्रदेश सरकारले आफ्नो महत्वपुर्ण योजनामा यो सडकलाई समेट्ने छ भनेर म बिश्वास दिलाउन चाहान्छु, यस पटकको प्रदेश सरकार गफ लगाउन होइन काम गर्न बनेको छ, त्यस कारण हरेक दुर्गम गाउँमा प्रदेश सरकारको प्रतिनिधी पुगिरहेका छौँ, तपाइहरु ढुक्क हुनुहोस केही न केही काम हुन्छ ।”
दार्चुलाको अपी हिमाल बेस क्यम्पमा अपी हिमाल गाउँपालिकाको आयोजना तथा प्रदेशको उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको सहकार्यमा ४४ औँ अन्तराष्ट्रिय पर्यटन दिवश मनाइएको थियो । सोही दिवश कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री धामी त्यहाँ पुगेका हुन् । बिगतमा कोठे कार्यक्रममा सिमित हुने पर्यटन दिवश यस पटक सुदूरपश्चिमकै अग्लो हिमालमै मनाइदा स्थानिय खुशी छन् । यस्ता कार्यक्रमले पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगत सिहं ठेकरेले बताए । सोही अवशरमा अपी हिमाल गाउँपालिकाले अपी भ्रमण बर्ष २०८० कोपनि सुभारम्भ गरेको छ । बढी भन्दा बढी पर्यटक तान्नका लागी भ्रमण बर्ष मनाउन लागीएको अध्यक्ष ठेकरेले बताए ।
कार्यक्रममा बिभिन्न ठाउँबाट करिब ५ सय पर्यटक पुगेका थिए । नाटा सुदूरपश्चिमले ब्यवस्थापन गरेको कार्यक्रममा बोल्दै अध्यक्ष पदम बिक्रम सिहंले पर्यटन बाटै सुदूरपश्चिममा सम्बृद्धी आउने दावी गरे । पर्यटकिय क्षेत्र थुप्रै भएपनि भौतिक पुर्वाधार अभाव र प्रचार प्रसार नहुँदा ओझेलमा परेको उनले बताए । कार्यक्रममा बिभिन्न स्थानिय तहका जनप्रतिनिधी लगायत पर्यटन ब्यवसायीहरुको सहभागीता थियो । सुदूरपश्चिमको उच्च हिमाली चुचुरामध्ये पर्छ, दार्चुलाको अपी हिमाल। अपि हिमाल अपि गाउँपालिकामा नै पर्छ । यस हिमालको उचाइ ७ हजार १३२ मिटर छ । सन् १८९९ मा पहिचानमा आई सन् १९६० मा पहिलो पटक आरोहण गरिएको अपी हिमालसम्म पुग्न दार्चुला सदरमुकामबाट ३ वटा रुट छन्।
अपी हिमालसँगै ६ हजार ८५० मिटर अग्लो अर्को कापाचुली हिमाल अपी बेस क्याम्पबाट आधा घण्टामा सजिलै पुग्न सकिन्छ । त्यसैगरी ५ हजार ३६८ मिटर अग्लो ठाडाढुंगा हिमाल पनि उत्तिकै रमणीय र आरोहणका दृष्टिकोणबाट उपयुक्त रहेको छ । सबैभन्दा छोटो रुट दार्चुला सदरमुकाम खलंगाबाट हुती, सुन्सेरा, राप्ला हुँदै व्यास भएर अपी हिमालसम्म पुग्न सकिन्छ । बाटो त्रिदेशीय सीमा क्षेत्रमा पर्ने हुँदा विदेशी आरोहीहरूको प्राथमिकतामा पर्ने गरेको छैन । दोस्रो रुटका रूपमा दार्चुला सदरमुकामदेखि खार, सिप्टी र सितोला हुँदै अपी बेस क्याम्पसम्म पुगिन्छ । पर्याप्त दृश्यावलोकन र रमणीय प्रकृतिसँगै यस रुटबाट अपी बेस क्याम्पसम्म पुग्न सकिन्छ । बाटो र बासको अभावमा यो रुट पनि पर्यटक र पर्वतारोहीको रोजाइमा पर्दैन। पर्यटक र पर्वतारोहीहरूका लागि सबैभन्दा छोटो रुटका रूपमा दार्चुलाको गोकुलेश्वर हुँदै लटिनाथ, गुल्जर, घुसाको रुट रहेको छ । मकरीगाडबाट २ दिन दिन पैदल यात्रापछि अपी हिमाल बेस क्याम्पसम्म पुग्न सकिन्छ । अपी हिमालसम्म पुग्न आउने पर्यटक र पर्वतारोहीहरूले प्रायः यही रुटलाई प्रयोग गर्ने गर्छन्।