धनगढी। कैलालीस्थित धनगढी उपमहानगरपालिका ५ तारानगरमा रहेको एक्सिस बिद्याआश्रमका विद्यार्थीलाई लागुऔषध विरुद्धको प्रशिक्षण दिइएको छ। एक्सिस बिद्याआश्रम माध्यमिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई लागुऔषधको विरुद्धमा प्रशिक्षण दिइएको हो।कैलालीमा सञ्चालित लागु औषध विरुद्धको महाअभियान २०८० कार्यक्रम अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी श्याम सिं चौधरीले चार दिनसम्म विद्यार्थीलाई लागुऔषध प्रयोगका कारण हुने क्षतिका बारेमा प्रशिक्षण दिएका थिए। कक्षा ११/१२ मा अध्ययनरत ७ सय विद्यार्थीलाई लागुऔषधको प्रयोगका कारण हुने नोक्सानीका बारेमा प्रशिक्षण दिइएको हो। सुदूरपश्चिममा प्रहरीले लागुऔषधको विरुद्धमा महाअभियान सञ्चालन गरेको छ।
कैलाली र कञ्चनपुरसहित प्रदेशका जिल्लाहरुमा लागुऔषधको कारोबार र प्रयोग बढ्दै गएका बेला प्रहरीले अभियान थालेको हो। प्रहरी र विद्यार्थीका बिचमा भएको उक्त कार्यक्रमको प्रभाव राम्रो हुने एक्सिसले बताएको छ। एक्सिस बिद्याआश्रम माध्यमिक बिद्यालयकी प्राचार्य अनिता पन्तले वर्तमान समयमा युवा पुस्ता होस या उमेर नै नपुगेका बालबालिका लागु औषध सेवनको समस्या विकराल बन्दै गईरहेकोले यस्ता कार्यक्रमले लाभ पुर्याउने बताइन्। लागुऔषध विरुद्धको प्रशिक्षण जस्ता कार्यक्रमहरुले प्रहरी र समुदायको सम्बन्ध प्रगाढ बन्नुका साथै गम्भीर समस्याको रुपमा रहेको लागुऔषध प्रयोग नियन्त्रणमा आउने उनले बिश्वास लिएकी छिन्।