कैलालीको भजनी नगरपालिकाका पशु सेवा प्राविधिक त्रिलोकनाथ चौधरीलाई गत शनिबार (भदौ २३) अपरिचित नम्बरबाट फोन आउँछ ।अभिवादनसँगै सो व्यक्तिले आफ्नो परिचय दिन्छ, आफू सुदूरपश्चिम सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको स्वकीय सचिव विकास ऐर हो भनेर । अनि निकै विनम्रतापूर्व भन्छ, ‘म तपाईंलाई चिन्छु, तपाईं मलाई चिन्नु हुन्न १ मन्त्रीज्यूको मलाई आदेश छ, एकदमै इमर्जेन्सी भयो । म बाहिर भएकोले व्यवस्थापन गर्न सकिरहेको छैन । उहाँलाई थोरै पैसा चाहिएको छ । पठाइदिनुस् न ! म पछि मन्त्रालयबाट मिलाइदिन्छु ।’ यति सुनेपछि त्रिलोकनाथ चौधरी नतमस्तक हुन्छन् । चिनेकै मान्छे, त्यो पनि मन्त्री यूले मागेपछि दिनलाई कर लाग्छ । उनले ६ हजार रुपैयाँ सो व्यक्तिले भनेअनुसारको ई–सेवा आईडीमार्फत पैसा पठाउँछन् ।
एकछिनपछि उनले आफ्नै सहकर्मी नगरपालिकाको कृषि शाखामा कार्यरत दिनेश कुमार चौधरीले पनि सोही व्यक्तिलाई सोही नम्बरमार्फत पैसा पठाएको खबर पाउँछन् । त्यसपछि दुवै जनाले खोजी नीति गर्छन् । अनि थाहा पाउँछन्, आफूहरू ठगिएको । दिनेश कुमार चौधरी भन्छन्, ‘मन्त्रीज्यूले मागेपछि दिइदिऊ लाग्यो । मैले पनि ईसेवामार्फत २ हजार रुपैयाँ पठाइ दिए ।’ दिनेश र त्रिलोकनाथ चौधरीले मिमसरा कुमारी महतराको नाममा ईसेवा आइडी ९८५११७३३१८ मा पठाएका हुन् । भजनी नगरपालिकामै कार्यरत वैभव चौधरीसँग पनि पैसा मागेको तर उनी जोगिएको बताइएको छ ।
यसरी सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको नाममा रकम असुली गर्ने गिरोह नै सक्रिय भएको पाइएको छ । सो गिरोहले प्रदेशका विभिन्न स्थानीय तह अन्तरगतका कृषि शाखामा कार्यरत कर्मचारीहरूसँग पैसा मागिरहेको पाइएको हो । प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीको निजी सचिवालयका नाम उल्लेख गरेर रकम असुली रहेको पाइएको हो । कैलालीको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले पनि सोही नम्बरबाट सोही मान्छेले फोन गरेर पैसा मागेको बताउँछन् । तर आफूले चिनैकै मन्त्री, त्यो पनि आफ्नै क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिबाटै सत्यतथ्य बुझ्नलाई राज्यमन्त्री कैलाश चौधरीलाई फोन गरेको सुनाउँछन् । आफूहरू कसैसँग पनि पैसा नमागेको राज्यमन्त्री चौधरीबाट सत्यता थाहा पाएपछि उनी पैसा पठाउन रोकिए । लालवीर भन्छन्, ‘म त दिनलाई तयार भइसकेको । अनि मन्त्रीज्यूलाई के त्यस्तो आपत् आइलाग्यो, भनेर सत्यता बुझ्न फोन गरे । र, ठगिनबाट जोगिए ।’
आफूसँग १० हजार रुपैयाँ मागेको बताउँदै लालवीर चौधरीले गाउँपालिकामै कार्यरत पशु सेवा अधिकृत नरबहादुर कार्कीसँग १५ हजार र कृषि शाखाकै चक्रप्रसाद भाटसँग ५ हजार रुपैयाँ मागेको जानकारी दिए । तर आफूहरू तीनै जना जोगिएको उनको भनाइ छ । कसैले आफूहरूलाई ठग्न खोजेको भन्दै उनीहरूले इलाका प्रहरी कार्यालय टीकापुरमा व्यक्तिको पहिचानसहित कारबाहीको लागि उजुरी दिएका छन् । भदौ २४ गते इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीलाई नेपाल टेलिकमले उपलब्ध गराएको कल डिटेल अनुसार सो पोष्टपेड मोबाइल नम्बर ९८५११७३३१८ कालिकोट मुगराहारा समाला गाउँका अम्मरराज सिजुवालको नाममा दर्ता भएको खुलेको छ । कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र पालले घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै पैसा माग्ने व्यक्तिले जिल्ला बाहिरबाट फोन गरेर पैसा मागेको बताए ।
के भन्छन्, मन्त्री चौधरी ?
आफूहरूको नामबाट कसैले पैसा मागिरहेको थाहा पाएपछि आफूहरूले सबै पक्षलाई सचेत रहन आग्रह गरेको राज्यमन्त्री कैलाश चौधरीले बताए । राज्यमन्त्री चौधरीले भने, ‘कसैले हाम्रो नाम वा सचिवालयको नाम प्रयोग गरेर असुली धन्दा मच्चाएको खबरले हामी दुःखी भएका छौँ । हामी जनताका सेवक हौ । जनताबाट १ पैसासम्म माग्ने हाम्रो नैतिकताले दिँदैन । हामी कल्पनासम्म गर्न सक्दैनौ । त्यसैले त्यस्तो ठगी धन्दाबारे जानकारी पाउने बित्तिकै सबैलाई सचेत रहन अपिल गरेका छौँ । साथै आवश्यक कारबाहीको लागि प्रहरी प्रशासन समक्ष जोडदार माग समेत गरेका छौ ।’ रातोपाटीबाट