धनगढी। कैलालीमा एक किशोरमाथि सामूहिक कुटपिट भएको छ। कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ८ का १७ वर्षीय प्रविन शाहीलाई सोही ठाउँका किशोरहरुको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मात्रै पिडीत परिवारले घटनाको बारेमा जानकारी पाएका हुन् । प्रविनले घर र साथीहरूसँग कुटपिट भएको बारेमा भनेका थिएनन्। भदौ १९ गते शाहीलाई किशोरहरूले जंगलमा लगेर कुटपिट गरेका थिए। किशोरहरुको समूहले कुटपिट गरेको भिडिओ अहिले भाइरल भएको हो।
प्रविनका बुवा खडक बहादुर शाहीले इलाका प्रहरी लम्कीमा शुक्रवार उजुरी दिएको आधारमा प्ररीले चार जना किशोरलाई पक्राउ गरेको छ । उनीहरूको विरुद्धमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। उनीहरु नावालक भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


