धनगढी। धनगढीका मोहन मिश्रले भारतलाई पराजित गरे नेपाली क्रिकेट टीमका खेलाडीहरूलाई पुरस्कार दिने बताएका छन्।
धनगढी १ शिवनगरमा रहेको मिश्र ट्रेड सपका सञ्चालक तथा ब्यवसायी मिश्रले एसिया कप, २०२३ को आज हुने खेलमा भारतलाई पराजित गरे नेपाली क्रिकेट टीमलाई नगद २५ लाख पुरस्कार दिने घोषणा गरेका हुन्। आज सोमबार भैरहेको नेपाल र भारत बीचको खेल नेपालले जिते खेलाडीको हौसला बढाउन २५ लाख पुरस्कार दिने मिश्रले बताए।
श्रीलंकामा आज नेपाल र भारत बीच एसिया कप, २०२३ अन्तर्गतको खेल भइरहेको छ। क्रिकेट प्रेमी मिश्रले नेपाली खेलाडीको सम्मान बढाउन पुरस्कार दिने निधो गरेको बताए।यस्तै उक्त खेलमा बिराट कोहलीको विकेट लिने खेलाडीलाई धनगढीको किशान ट्रेडिङ्गका संचालक शाह नवाज आलमले ५० हजार नगद पुरुस्कार दिने घोषणा गरेका छन्। एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ् गरिरहेको छ। भारतले टस जितेर पहिले फिल्डिङ् गर्ने निर्णय गरेको हो। पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपाल भारतलाई जित्नैपर्ने दबाबमा छ। भारतसँग पराजित भएमा नेपाल यस पटकको एसिया कपको यात्राबाट बाहिरिने छ।