दार्चुला। दार्चुलामा वृद्धा हत्याको आरोपितलाई सार्वजनिक गरिएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ स्थित टोपालीकी ८३ वर्षीया वृद्धा भागरथी चन्दका हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले वृद्धाका हत्या आरोपित नातिसहित दुई जनालाई सार्वजनिक गरेको हो । वृद्धा चन्दको हत्या आरोपमा उनका नाति मालिकार्जुन गाउँपालिका– ७ का २१ वर्षीय दिपक चन्द र दुहु गाउँपालिका–३ का १८ वर्षीय आशीष बमलाई प्रहरीले सार्वजनिक गरेको छ । भदौ ८ गते हजुरआमाले पैसा नदिएपछि हत्या गरी फरार रहेका थिए ।
फरार आरोपित दुईवटै जनालाई प्रहरी कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बसपार्कबाट भदौ १२ गते पक्राउ गरी आइतबार सार्वजनिक गरेका थिए ।दार्चुला प्रहरी डिएसपी तर्कराज पाण्डेयका अनुसार भदौ ८ गते घरमा एक्लै रहेका वृद्धा एकल महिलालाई दुवै जनाले धारिलो हतियार हसिया, कैची र चक्कुले प्रहार गरी हत्या गरेको उनीहरुले स्वीकार गरेका छन् ।
वृद्धा महिलाको घरमा पुगेर उनीहरुले घाँटी, छाती, पेटमा हतियार प्रहार गरेको पाइएको छ । हत्या गरी वृद्धा बस्ने घरबाट करिब ३०० मिटर दक्षिणतर्फ भिरालो जमिन फालेका थिए । वृद्धाको शव प्रहरीले भदौ ११ गते फेला पारेका थिए। वृद्धाको घरबाट उनीहरुले १०० दरका अमरेकी डलर नोट पाँच तथा १००० को कोरियन नोट १ नेपाली ४० हजार रुपैयाँ र एक तोला सुन लुटेर फरार भएका थिए ।
सदरमुकाम खलंगामा बस्दै आएका दुवै जना हत्यालगत्तै भदौ ९ गते भारतको धार्चुला गएको प्रहरीले जनाएको छ । भदौ १० गते सदरमुकाम खलंगामा सुन बिक्री गरेका थिए । दुवै जना भारतको बाटो हुँदै महेन्द्रनगर पुगेका थिए । उनीहरुलाई दार्चुला ल्याएर अनुसन्धान गरिएको थियो । उनीहरुविरुद्ध भदौ १२ गते ज्यानसम्बन्धी कसुर तथा अपराधमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको उनको भनाइ छ ।