काठमाडौँ। नेपाली भूभागलाई चीनले भारतको देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आउँदो सोमबारबाट हुन लागेको आफ्नो चीन भ्रमणमा रद्द गरेका छन्।
शाहले केहि अघि चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको नयाँ चुच्चे नक्सालाई हटाएर पहिलेकै बुच्चे नक्सालाई कायम गरेको उल्लेख गर्दै आफ्नो चीन भ्रमण नहुने सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतालाई चालेको गलत कदम मानेका छौं,’ शाहले टिप्पणी गरेका छन्,‘त्यसैले आज मेरो चीनको निमन्त्रणमा हुन गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।’
शाहले नेपालले २०७७ जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको पनि फेसबुक पोष्टमा प्रष्ट पारेका छन्। चीनले भदौ ११ मा आफ्नो नयाँ नक्सा जारी गर्दा छिमेकमा नेपालको पुरानै नक्सा समेटेको हो। भारतले नेपालको नयाँ नक्सालाई स्वीकार गरेको छैन र नेपाली भूमिमा भारतीयहरु अझै बसिरहेका छन् । नेपालको नयाँ नक्सालाई भारतले स्वीकार नगरिरहँदा चीनले पनि भदौ ११ मा आफ्नो नयाँ नक्सामा सार्वजनिक गर्ने क्रममा छिमेकी देश नेपालको नक्सा भने पुरानै देखाएर बाहिर ल्याएको हो।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार उक्त नक्सा चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको हो। सन् २०२३ को संस्करण भन्दै उल्लेख गरेको उक्त चिनियाँ नक्साको छिमेकमा रहेको नेपालको चुच्चे नक्साको स्थानमा बुच्चे नक्सालाई नै राखिएको हो । ‘यो नक्सा चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सीमा रेखांकन विधिको आधारमा तयार गरिएको हो,’ ग्लोबल टाइम्समा उल्लेख छ । ताइवान समेतलाई समेटिएको चीनको नयाँ नक्सामा नेपालको बुच्चे नक्सालाई कायम गरेर ग्लोबल टाइम्सले समाजिक सञ्जाल एक्स को ह्यान्डलबाट सेयर गरेको छ।
भारत र चीनबीच सीमा विवाद चलिरहँदा दुवै मुलुकले दाबी गरिरहेका ‘अक्साई चीन’ र अरुणाञ्चलको भागलाई समेटेर चीनले नक्सा निकालेको हो। तर चीनले आफ्नो नयाँ नक्सा जरी गर्दै गर्दा छिमेकमा नेपालको नक्सालाई पनि समेटेको छ । जसमा नेपालको नयाँ चुच्चे नक्सालाई स्थान दिइएको छैन ।चीनले निकालेको नयाँ नक्साका सम्बन्धमा भने नेपाल सरकारले अहिले कुनै पनि प्रक्रिया नदिने जनाएको छ । परराष्ट्र स्रोतले भने पहिला चीनले निकालेको नक्साको सम्बन्धमा प्राविधिक रुपमा बुझेर मात्र अघि बढ्ने जनाएको छ।
चीनले नेपालको सीमा सम्बन्धमा विवादास्पक कुरा बाहिर ल्याएको पहिलो पटक भने होइन। सन् २०१५ मा भारतका प्रधानमन्त्री मोदीको चीन भ्रमणमा दौरान भारत–चीन बीच भएको ४१ बुँदे सम्झौताको २८ औं बुँदामा ‘भारत र चीन लिपुलेक नाकाबाट सीमा व्यापार बढोत्तरीका लागि कामकुरो गर्न मञ्जुर भएका छन्’ भन्ने उल्लेख गरिएको थियो । नेपाली भूभागलाई भारत र चीन दुवैले नेपाललाई नै नसोधी उक्त सम्झौता गर्नु नेपालको संवेदनशीलतामाथि चालेको कदम हो । त्यस बेला नेपालले दुवै मुलुकहरु भारत र चीनलाई ‘प्रोटेस्ट नोट’ पठाएको थियो । जसको जवाफ दुवै देशले हालसम्म दिएका छैनन् ।