कञ्चनपुर। कञ्चनपुरको शिद्धनाथ माध्यामिक विद्यालयका लेखापाल कुटिएको घटनाका थप २ आरोपी पक्राउ परेका छन् । कञ्चनपुर भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा ३ भदौमा भएको घटना किटानी जाहेरीमा परेका थप २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जाहेरीमा परेका मनिष विष्ट र दीपक भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए । यसअघि किटानी जाहेरीमा नाम उल्लेख भएका नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई घटनाको पक्राउ गरिएको भने थियो ।
जाहेरीमा परेका करन मल्ल र मनोज तिरुवा भने फरार रहेका छन् ।फरारमध्ये केही काठमाडौं पुगेको खबर प्राप्त भएपछि प्रहरीले काठमाडौंमैं खोजिरहेको पनि बताइएको छ। अन्य आरोपी महेन्द्रनगर बजारमैं देखिएको जानकारी पाइएको पनि उनले बताए ।प्रहरीले पक्राउ परेका र फरार रहेकाहरुलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरिरहेको छ। सो विद्यालयका लेखापाल बिरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गत साता आइतबार अभिभावक, स्थानीवासी र विद्यार्थी आन्दोलित भएका थिए।
आन्दोलितहरुको कुटपिटका कारण लेखापाल जोशी सख्त घाइते भएका थिए। उनको अहिले प्रहरी निगरानीमा धनगढीस्थित निसर्ग अस्पतालको सघन उपचारकक्ष ९आईसीयू०मा उपचार चलिरहेको छ।लेखापाल जोशीले विद्यालयको सिंढीमा भेट हुँदा छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ। जोशी मरणासन्न कुटिएकोपछि उनको परिवारले ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको थियो। घाइते लेखापाल जोशीकी पत्नी भागरथी भट्ट जोशीले ८ जना कुटपिटमा संलग्नलाई ज्यान मार्ने उद्योगमा किटानी दर्ता गराएकी हुन्। विद्यालयका लेखापाल बिरेन्द्रप्रसाद जोशीलाई मरणासन्न कुटपिटको विषयलाई लिएर शिक्षकहरु आन्दोलित भएका छन्। आइतबार भीमदत्त नगरपालिकाभित्रका शिक्षण संस्था बन्द गरिएका थिए । भोलिबाट कञ्चनपुर जिल्लाभरिकै शिक्षण संस्था बन्द गर्न आव्हान गरिएको बताइएको छ।