धनगढी। कैलालीको धनगढीमा एक शिक्षिका मृत अवस्थामा फेला परेकी छिन्। बिहीबार बिहान धनगढी उपमहानगरपालिका–३ को चटकपुरमा २२ वर्षीय राजेश्वरी डडाल मृत फेला परेकी कैलाली प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालका अनुसार दार्चुलाको मार्मा गाउँपालिका-६ घर भई धनगढी ३ को दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी डडाल मृत फेला परेकी हुन्। डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा २५ वर्षीय जगदिश कोट्टारीलाई पक्राउ गरिएको जानकारी दिए।
डडाललाई आत्महत्या गर्न बाध्य पारेको भन्दै मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्यालले मृतक र कोट्टारी प्रेम सम्बन्धमा रहेकोमा कोट्टारी विवाहित भएको बताए। अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा कोट्टारी निर्वाचित भएका थिए ।