कञ्चनपुर। कञ्चनपुरका २८ वर्षीय मनोज शाही रोमानियाको जंगलमा बेपत्ता भएका छन्। गत चैत २९ गते भिजिट भिसामा अवैध बाटो हुँदै पोर्चुगल जान काठमाडौंबाट दुबई उडेका शाही वैशाख १९ गते रोमानियाको जंगलबाट हराएको उनका भिनाजु सुनीलजंग शाहीले जानकारी दिए ।
उनीसहित १७ नेपाली सोही दिन काठमाडौंबाट भिजिट भिसामै दुबई उडेका थिए । उनीसहित १७ नेपालीको समूह दुबई रसिया हुँदै बेलारुसबाट लाटभियातर्फ जाँदै गरेको थियो । १० दिनदेखि जंगलको बाटो धेरै चिसो मौसममा सुक्खा पहाड त कहिले जंगल एकोहोरो हिँड्दा मनोज शारीरिक रूपमा अशक्त भएको कञ्चनपुरका अर्का एक युवाले बताए । यस्तो अवस्थामा लगातार हिँड्दा खाना र पानीसमेत नपाउँदा अधिकांश युवा शारीरिक रूपमा कमजोर भइसकेको उनले बताए ।
१७ जनाको समूहमध्ये मनोज अति कमजोर भएको र बारम्बार हिँड्न नसक्ने मनोजले भन्दै आएको सँगै गएका नाम परिवर्तन (राम खड्का )ले बताए । मनोजले बारम्बार अब हिँड्न सक्दिनँ, म यतै भएका आर्मी क्याम्पमा गएर सरेन्डर गर्छु, तपाईंहरू जानुस् भनेको (नाम परिवर्तन) खड्काले बताए । तर हामीले अलपत्र पर्ने भन्दै नमानेकाले सबैजनाले बोकेर भएपनि लैजाने भन्दै हिँड्न प्रेरित गरेको उनले बताए । केही छिनमा पछाडि फर्केर हेर्दा मनोज नदेखिएको उनले बताए । मनोज पछि–पछि हिँड्ने भएकाले आउँदै छन् भन्ठानेर हिडेपछि फर्केर हेर्दा नदेखीएको उनले बताए।
त्यसपछि दुईजना साथीले फर्केर खोज्दा नभेटिपछि टोली नै गएर मनोजको खोजी गर्दा कतै वरपर नभेटिएको उनको भनाइ छ । खड्काले बेलारुसबाट लाटभिया जाँदै गर्दा उनी त्यतै बेपत्ता भएको बताए । पैसाको कुरा नमिलेपछि पोर्चुगलका लागि हिँडेका १७ नेपाली युवामध्ये सातजना बेलारुसबाट स्वदेश फर्केका छन् । कञ्चनपुर, झापा र चितवनका युवा छन्। स्थानीय एजेन्टले आफ्नो कमिसन नपाएको भन्दै युवाहरूलाई अलपत्र पारेपछि उनीहरूले पोल्यान्ड आर्मी क्याम्प गएर आत्मसमर्पण गरेको राम खड्काले बताए । उनीहरू १७ नेपालीलाई कञ्चनपुरका एजेन्ट दीपेश शाहीले पोर्चुगलसम्म पु¥याउने र लगिदिएबापत प्रतिव्यक्ति १४ लाख रुपैयाँसम्म असुलेका थिए । रसिया पुगेपछि थप एक लाख रुपैयाँ असुलेका थिए ।
गत २९ चैतमा सबै युवालाई एजेन्ट दीपेशले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसामा दुबई पु¥याएका थिए । दुबई पुगेपछि १७ जना युवाबीच चिनजान भएको थियो । केही दिन दुबई बसेपछि दलालले उनीहरूलाई रसिया पु¥यायो । उनीहरू रसियामा केही दिन बसे । त्यसपछि रसियाबाट करिब नौ घन्टा बाटो तय गरी ट्याक्सीबाटै बेलारुस पु¥याइयो । तर, नेपाली एजेन्ट दीपेश भने रसियाबाटै नेपाल फर्किए । उनले युवाहरूलाई अफगानिस्तानी दलालको जिम्मा लगाएको खड्काले बताए । बेलारुसमा एक हप्ता बसेपछि अफगानी दलालले हप्तौँ हिँडाएर लाटभिया पु¥याएको थियो । तर, उनीहरूलाई लाटभियाको आर्मीले बोर्डरबाटै पक्राउ ग¥यो । भोकभोकै हिँड्दा गलिसकेका युवाहरूलाई खाना भने दिएको थियो । तर, आर्मीले के गर्ने हो भन्ने डरले सबैजना आत्तिएको खड्काले सुनाए । दलालले जान दिन आर्मीसँग अनुरोध गर्न दबाब दिए पनि युवाहरूले आफू पीडित भएको दुःखेसो सुनाएपछि आर्मीले उनीहरूलाई फेरि बेलारुसको बोर्डरमा ल्याएर छाडिदिएको थियो ।
बेलारुसबाट उनीहरूले नेपालमा रहेका एजेन्ट दीपेशलाई सम्पर्क गर्दा उनले फेरि अर्को पाकिस्तानी एजेन्ट पठाइदिएका थिए। नयाँ एजेन्टले उनीहरूलाई पोल्यान्ड लैजाने जिम्मा पाएको खड्काले बताए । उनले पनि युवाहरूलाई जंगलको बाटो दिनरात नभनी हिँडाएरै पोल्यान्ड पु¥याए । तर, पोल्यान्ड पुगेपछि पाकिस्तानी एजेन्टले नेपालको एजेन्टले आफ्नो कमिसन नदिएको भन्दै अत्तो थाप्न थाल्यो । कमिसन नपाएसम्म त्यहाँभन्दा अगाडि नलैजाने अड्डी लियो । युवाहरूले धेरै अनुरोध गरे । पोर्चुगल पुगेपछि उसलाई आफैँले कमिसन दिने पनि कसम खाए, तर एजेन्टले मानेन ।
झापाका तीन युवाले भने नेपालबाटै १० लाख रुपैयाँ मगाएर पाकिस्तानी एजेन्टलाई बुझाएको खड्काको भनाइ छ । पैसा दिएका युवालाई साथ लिएर एजेन्ट हिँडेपछि बाँकी १३ जना अलपत्र परे । त्यसपछि उनीहरूले पोल्यान्डको आर्मीसामु आत्मसमर्पण गरेको खड्काले सुनाए । पोल्यान्डका आर्मीले उनीहरूलाई बेलारुस बोर्डरमा लगेर छाडिदियो । बेलारुसबाट १३ जना युवा दुईवटा जिप रिजर्भ गरेर रसिया फर्कंदै गर्दा ड्राइभरले तीव्र गतिमा हाँकेपछि एउटा गाडी दुर्घटनामा प¥यो । त्यसपछि सातजनालाई बेलारुस प्रहरीले समात्यो । अवैध रूपमा बेलारुस प्रवेश गरेको भन्दै प्रहरीले उनीहरूलाई जेलमा राख्यो । त्यसपछि बेलारुस प्रहरीले रसियास्थित नेपाली दूतावासलाई खबर ग¥यो । दूतावासको समन्वयमा घरमा सम्पर्क गरी टिकटको व्यवस्था मिलाएर युवाहरू साउन पहिलो साता नेपाल फर्किएको पीडित खड्काले बताए ।
खड्काका अनुसार एजेन्टलाई कमिसन दिने तीनजना युवा पोर्चुगल पुगेका छन् । बाँकी पाँचजना भने बेलारुसमै छन् । तर, दलाल दीपेश शाहीले भने पीडितहरूले भनेजसरी आफूले पैसा लिएर बेलारुस नपठाएको दाबी गरे । अनलाइन मार्फत कुरा गर्दै दीपेशले १७ जना युवालाई भिजिट भिसामा रसियासम्म मात्रै पु¥याएको बताए । सबैजना चिनजानकै रसिया घुम्न जाने भनेर आफुले त्यहाँसम्मका लागि सहयोग गरेको बताए । तर त्यहाँ पुगेपछि उनीहरू आफै बेलारुस पुगेको र मेरो कुनै दोष नभएको उनले बताए । लाटभियाको बोर्डरमा बेपत्ता भएका छोरा (२८ वर्षीय मनोज)को खोजी गर्न उनकी आमा धनसरादेवी शाहीले सरकारसँग गुहार मागेकी छिन् । मनोज धनसराका एक्ला छोरा हुन् । चार वर्षअगाडि श्रीमान् गुमाएकी धनसरालाई छोरा हराएपछि अर्को पीडा थपिएको छ ।