धनगढी। कैलाली प्रहरीले लागुपदार्थ सेवन (लापसे)कर्तामाथी चेकिङ गर्ने कार्य सुरुवात गरेको छ। जिल्ला ट्राफिक प्रहरी कैलालीले प्रविधियुक्त लागुपदार्थ सेवन चेकिङ यन्त्र (लागुऔषध परीक्षण कीट) मार्फत चेकिङ गर्न लागीएको प्रहरीले जनाएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआईजी भरतबहादुर बोहराले काठमाडौंबाट प्रविधियुक्त लागुपदार्थ सेवन चेकिङ यन्त्र (लागुऔषध परीक्षण कीट) मगाएर ट्राफिक प्रहरीले चेकिङ कार्य भैरहेको जानकारी दिए। कैलाली ट्राफिकका अनुसार शुक्रवार र शनिबार चेकिङ गरिएकोमा ७ जना पक्राउ परेका छन् । शुक्रवार पक्राउ पर्नेमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ बस्ने ३३ वर्षीय भीमराज अवस्थी छन् ।
प्र.०३ ०१-००३ क ४८१२ नम्बरको टिप्पर चालकसमेत रहेका उनलाई धनगढीको ६ लेन सडकमा चेक गर्दा पोजेटिभ देखाएको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको थियो। यस्तै आज (शनिबा) गरिएको परीक्षणमा ६ जनालाई प्रहरीले समातेको छ। धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित मोहना अत्तरिया ६ लेन सडक खण्डमा लापसे चेक गर्दा उनीहरु समातिएका छन्।
यस्तै सुपप्र ०२-००१ क ४९९ नम्बरको टिप्परका चालक शुक्लाफाटा नगरपालिका-५ बस्ने वर्ष ३४ का दिवाकर भुजेल, सुपप्र ०१-००१ क ३०७४ नम्बरको टिप्परका चालक डडेल्धुरा अमरगढी नगरपालिका-४ बस्ने वर्ष ३० का रमेश भट्टराई, बा ४ ख ५८७२ नम्बरको फोर्स चालक गोदावरी नगरपालिका-८ बस्ने वर्ष ३१ का यादव बोहरा, ना ५ ख ५४४५ नम्बरको बसका चालक गोदावरी नगरपालिका-१२ बस्ने वर्ष ३६ का महादेव जोशी, सुपप्र ०१-००१ज १२६० नम्बरको विङ्गरका चालक धनगढी उपमहानगरपालिका-३ बस्ने वर्ष २५ का बिदुस राना र सुपप्र ०२-००१ ज ०४४९ नम्बरको विङ्गरका चालक वेदकोट नगरपालिका-१० बस्ने वर्ष ३१ का अर्जुन रावल रहेका छन्। उनीहरु सबैलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको र उनीहरुमाथी अनुसन्धान भैरहेको बताइएको छ।