बैतडी। बैतडीमा एक सुनचाँदी पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। बैतडीको सदरमुकाम स्थित शुभलक्ष्मी सुनचाँदी पसलमा गहना पसलमा शुक्रबार दिउँसो ४ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
दशरथचन्द नगरपालिका-४ शाहीलेक बजारस्थित उक्त सुनचाँदी पसलमा गहना बनाउने क्रममा सिलिण्डरबाट ग्यास लिक भएर आगलागी भएको हो। सिलिण्डरबाट सल्केको आगो तेजावमा समेत सल्केको थियो। आगलागीका कारण पुरै सुनचाँदी पसल जलेर खरानी हुँदा २० लाख बढीको क्षति भएको पसलका सञ्चालक प्रदीप गहतराजले बताए।
पसलमा आगो सल्किदा स्थानीयले तुरुन्तै आगो निभाउन जुटेपछि छेउछाउका पसलमा आगो सल्कन नपाएको स्थानीय महेशदत्त भट्टले बताए। दशरथचन्द नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले पसलमा आगलागी हुँदा भएको क्षतिको थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।