काठमाडौ । सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जानकारी दियो।
चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो। योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ। राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो। त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो।
सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो। सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो। सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ।