धनगढी। बजेट अभावमा कैलाली र कञ्चनपुरका पशु क्वारेन्टाइनको कामकाज प्रभाबित बन्न थालेको छ। सरकारले पशु, खाद्य र प्लान्ट क्वारेन्टाइन गाभ्ने नीति लिएपनि चालु आर्थिक वर्ष २०८०/८१ का लागी बजेट नआएपछि पशु क्वारेन्टाइनको कामकाज प्रभाबित बन्न थालेको हो।
भारतबाट आउने पशुजन्य सामग्री परीक्षणका लागि क्वारेन्टाइन कार्यालय मातहत कञ्चनपुरमा दुई चेक पोस्ट, कैलालीमा एक र दार्चुलामा एक गरेर चार नाकामा क्वारेन्टाइन राखिएको छ। सरकारले बजेट नपठाउँदा कर्मचारीले तलब नपाएको र प्लान्ट, पशु, खाद्य क्वारेन्टाइन मर्ज गर्ने निर्णय गरेपछि कामकाज प्रभाबित बन्न थालेको बताएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट कार्यालय धनगढी कैलालीका प्रमुख टिकाराम खनालले सरकारले बजेट नपठाउँदा कर्मचारीले तलब नपाएकोले समस्या भैरहेको बताए।
उनले भने, करार लगायतका कर्मचारी अहिलेसम्म तलव पाएका छैनन्, अब यो साउन मसान्त सम्म आउने हो कि भन्ने आशा ब्यक्त गरे । सरकारले प्लान्ट, पशु, खाद्य क्वारेन्टाइन मर्ज गर्ने निर्णय गरेको बुझिएको भएपनि हालसम्म मर्ज प्रक्रिया अगाडि नबढेको बताइएको छ। यता कृर्षि तथा पशुपन्छी बिकास मन्त्रलाय पशु सेवा बिभागको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीको सेवा साउन १५ गतेबाट बन्द गरिएको जनाएको छ। प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले चालु आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नभएकाले बाध्य भएर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्नुपरेको बताए। उनले अर्को व्यवस्था नभएसम्मका लागि सेवा प्रवाह गर्न असमर्थ रहेको बताए।
चालु बजेट वक्तव्यमा उल्लेख भए अनुसार संस्थागत संरचनाको समेत अन्योलता रहेको बताए। पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पशुपन्छीमा लाग्ने विभिन्न रोगको जाँच गर्दै आएको थियो। सरकारले बजेट नदिएपछि उता कञ्चनपुरको गड्डाचौकीस्थित पशु क्वारेन्टाइन कार्यालय बन्द हुने भएको छ। सरकारले पशु, खाद्य र प्लान्ट क्वारेन्टाइन गाभ्ने नीति लिए पनि बजेट नआएपछि न्यूनतम चेकजाँचसमेत बन्द हुने भएको हो । पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. उत्तम आचार्यले भारत तथा तेस्रो मुलुकबाट आउने पशुपन्छी तथा पशुजन्य पदार्थ चेकजाँच गर्ने निकाय क्वारेन्टाइन कार्यालय कञ्चनपुर मातहतका चेक पोस्ट बन्द हुँदा भारतबाट आउने पशु तथा पशुजन्य वस्तुको परीक्षण रोकिएको बताए।
दैनिक सीमानाका हुँदै भित्रिने अन्डा, माछा, खसीबोकालगायत पशुपन्छी तथा पशुजन्य पदार्थको चेकजाँच नै नभई सर्वसाधारण उपभोक्तासँग पुग्ने गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्ल बताएका छन्। चालु आर्थिक वर्ष २०८०/८१ मा सरकारले गड्डाचौकीस्थित पशु क्वारेन्टाइन कार्यालयका लागि शून्य बजेट दिएको छ। जसका कारण दैनिक कार्यालय सञ्चालनमा समेत समस्या परेको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख आचार्यको भनाई छ।
परीक्षणका लागि किटसमेत नभएपछि तत्काल पशु क्वारेन्टाइन कार्यालय मातहतका चारवटै चेक पोस्टबाट नियमित सेवा बन्द भएको हो। पशु क्वारेन्टाइन कार्यालयका प्रमुख आचार्यले अर्थ मन्त्रालयबाट कुनै पनि दायित्व सिर्जना हुने काम गरे व्यक्ति स्वयंले बेहोर्ने भन्ने परिपत्र आएकाले कामकाज बन्द गरिएको बताए ।
उनका अनुसार करारका प्राविधिक कर्मचारीको सम्झौता सकिएको र कार्यालयले दिने सम्पूर्ण सेवा बन्द भएका छन् । भारतबाट आउने पशुजन्य सामग्री परीक्षणका लागि क्वारेन्टाइन कार्यालय मातहत कञ्चनपुरमा दुई चेक पोस्ट, कैलालीमा एक र दार्चुलामा एक गरेर चार नाकामा क्वारेन्टाइन राखिएको छ। कैलालीमा २० जना कर्मचारीको दरबन्दी भए पनि हाल १८ जना कर्मचारी कार्यरत छन्। बजेट नआउँदा कर्मचारीले तलबसमेत पाएका छैनन्। न्यूनतम चेकजाँचसमेत बन्द अवस्थामा पुगेका हुन् ।