कञ्चनपुर। राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अविधेशनको बन्द सत्रमा लफडा भएको छ। शुक्रबार कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा अविधेशनको उद्घाटन सत्रमा अध्यक्ष मण्डल र प्रतिनिधिको विषयमा विवाद भएको हो।
विवाद हुँदा दुबै पक्षबाट हात हालाहाल हुनुका साथै बाणिज्य संघका अनुसार संघका ६ ओटा कुर्ची तोडफोड गरिएका छन्। शुक्रबार राति स्थगित गरिएको अविधेशनको बन्द सत्र अहिले दिउँसोसम्म सञ्चालन हुन सकेको छैन। विहान ११ सुरु हुने भनिएको बन्द सत्र अहिलेसम्म सुरु नभएपछि प्रतिनिधि एमाले पार्टी कार्यालय र कार्यालय बाहिर प्रतिक्षामा बसेका छन्।
बन्द सत्र सञ्चालनका लागि पार्टी र युवा संघका नेताहरु विहानैदेखि पोलिट्ब्युरो सदस्य युवा फाँट इन्चार्ज महेश वस्नेतसित छलफल गरिरहेका छन्। युवा संघका नेताहरुका अनुसार शुक्रबार राति बन्द सत्र सुरु भएर अध्यक्ष मण्डल घोषणा हुनुअघि नै असन्तुष्टि पोखेपछि हलमा विवाद भएको थियो। त्यहीं विवादका बीच प्रतिनिधिबीच एक आपसमा हात हालाहाल भएको छ। उनीहरुले सभा हलका केही कुर्ची तोडफोड गरेका छन्।एमाले पोलिटब्युरो सदस्य वस्नेतले दिउँसो अधिवेशन उद्घाटन गरेपछि शुक्रबार साँझ ७ बजे बन्द सत्र सुरु गर्ने कार्य तालिका थियो।
त्यस अनुसार हुन नसकेको बन्द सत्र केही ढिलो गरी सुरु गरिएको थियो।बन्द सत्रमा विवाद भएपछि प्रतिनिधिले आयोजक कमिटीका सदस्य खगेन्द्र नाथमाथि हातपात गरेका छन्। उनले अध्यक्ष मण्डलका संयोजक संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ्ग सहितमाथि हातपात गर्न खोज्ने क्रममा आफूले रोक्दा हातपात गरिएको बताए। ‘अध्यक्ष मण्डलमाथि हातपात हुने भएपछि मैले रोक्न खोज्दा ममाथि नै हातपात गरिएको उनले भने।नाथ लगायत युवा संघका नेताले राति भएको घट्नाको पोलिटब्युरो सदस्य महेश वस्नेतलाई जानकारी गराएर कारवाही गर्न माग गरेका छन्। वस्नेतले संलग्न सबैलाई युवा संघबाट कारवाही गरिने आश्वासन दिएको बताइएको छ।


