बैतडी। बैतडीमा २५ दिनको अवधीमा पाँच जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांक अनुसार चालु आर्थिक बर्षको २५ दिनमा ५ जनाले आत्महत्या गरेका छन्।
यो महिनामात्रै ३ महिला र २ पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। पछिल्लो समय बैतडी जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। प्रहरी तथ्यांक अनुसार आत्महत्या गर्नेमा किशोरावस्थाका मानिसहरु समेत रहेका छन्।
बैतडी प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्षमा १० पुरुष, ११ महिला, ३ बालिका र १ बालक गरी २५ जनाले आत्महत्या गरेका थिए। यस्तै आर्थिक बर्ष २०७८/७९ मा ३६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। आर्थिक बर्ष २०७८/७९ मा २० पुरुष, ८ महिला, ४ बालक र ४ बालिकाले आत्महत्या गरेका थिए।
यस्तै आर्थिक बर्ष २०७७/७८ मा २० पुरुष, १७ महिला, २ बालक र ४ बालिका गरी ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जोशीले आत्महत्याका घटना बढ्नु बिभिन्न मानसिक समस्या, लागु औषध, घरेलु हिंसा लगायतका कारण रहेको बताए। मानसिक तनाव लगायतका कारणले यस्ता घटना बढीरहेका उनको भनाई छ ।आत्महत्याका घटनामा कमी ल्याउनका लागि मानसिक स्वास्थ्यका कार्यक्रम ठाउँठाउँमा सञ्चालन गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। जसबाट आत्महत्याका घटनामा केही कमी आउने उनको भनाई छ ।