धनगढी। सुदुरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ। सुदूरपश्चिमको ‘लाइफलाइन’का रूपमा रहेको भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा खाद्यान्न, औषधी, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको हो।
कैलालीको गोदावरी-४ भावरमा साउन २२ गतेको पहिरोले बगाएपछि अवरुद्ध सडक खुलाउन प्रयास भैरहेको छ। तर नयाँ ठाउँबाट सडकको ट्याक खोलीउपनी निरन्तरको वर्षाका कारण सडक सञ्चालनमा बाधक बनेको छ। सुदूरपश्चिमको पहाडी ७ जिल्ला जोड्ने भीमदत्त राजमार्ग नै ठप्प हुँदा पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। डडेलधुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लामा खाद्यान्न, औषधी, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको स्थानीय प्रकाश देउवाले बताए।
ती जिल्लामा उत्पादित गोलभेँडा, काउली, आलु, सिमी, बन्दालगायत तरकारीलाई तराईका बजार पुर्याउन समस्या भएको छ।अत्यावश्यक कामले झर्ने यात्रु र बिरामी बोकेका एम्बुलेन्स बुढीतोलासम्म पुग्ने गरेका छन्। त्यहाँबाट बिरामीलाई स्ट्रेचरमा राखेर पहिरो क्षेत्र पार गराउने गरिएको देउवाको भनाई छ। राजमार्ग अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बाजुराको बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले बताए। उनले जिल्लाको एउटा मात्रै विमानस्थल (कोल्टी) पनि १२ बजेसम्म मात्र सञ्चालन गरिएको बताए।
त्यसपछि कोही बिरामी पर्यो भने अस्पताल पुर्याउन समस्या भइरहेको उनले बताए। राजमार्ग बन्द हुँदा खाद्यान्न कालोबजारी र महँगी बढेको र कतिपय स्थानमा अभाव नै हुन थालेको उनले जानकारी दिए। एक–दुई दिनभित्र यातायात सुचारु नभए धेरै ठाउँमा समस्या हुने उनले जानकारी दिएका छन्। यता सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख हरिप्रसाद सुवेदीले वर्षा नरोकिएका कारण भीमदत्त राजमार्गसडक सुचारु गर्न नसकिएको बताए।
पाँच वटा मेसिन लगाएर निरन्तर काम गरिरहेका बताउँदै पानी र पहिरो नरोकिएकाले समस्या भएको उनले बताए। आइतबारसम्म साना सवारी एकतर्फी रूपमा चलाउन सकिन्न उनको भनाई छ ।पहिरोले पुरेको ४०० मिटर सडक पन्छाइसकिएको र सडक नै बगाएको १०० मिटरमा काम भइरहेको सुवेदीले बताए। सडक कार्यालयका प्रमुख सुवेदीका अनुसार सडक विभागबाट पहिरो विशेषज्ञसहितको टोलीसमेत पहिरोस्थलमा पुगेर अध्ययन गरिरहेका छन्। उक्त क्षेत्रमा पहिले पनि ठूलो पहिरो गएर बस्ती बसेको बताउँदै साउन २२ गते सो स्थान आसपास मात्रै मेघगर्जन र चट्याङसहित भारी वर्षाले पहिरो जाँदा धेरै क्षति गरेको उनले बताए।