धनगढी : यतिबेला देशैभरी बर्षाले कयौँ क्षेत्र तहसनहस पारेको छ । कैलालीको सबैभन्दा बढी भजनी नगरपालिकामा डुवान परेको छ । डुवानबाट भजनीका मात्रै करिब १ हजार परिवार प्रभावित बनेका छन् । भजनी नगरपालिका वडा नम्बर ३ कुशुमघाट, ढुसी, बर्दवा, कनैयापुर, ८ वडाका बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका नागरिकहरुको सडकमा बास भइरहेको छ । बुधबार हामी वडा नम्बर ३ का बिभिन्न ठाउँमा पुग्दा अधिकाशं टोलका नागरिकहरु सडकमा थिए । उनिहरुले सडक छेउमा त्रिपाल लगाएर अस्थाई टहरा निर्माण गरेका थिए । टाढा बस्ती छ त्यहाँ सडकमा त्रिपालमुनी बसिरहेकी पुस्पा डँगौराले भनिन् “बाढीले घर ढुब्नै लाग्यो अनी एक छाल कपडा र थोरै धान ल्याएर सडकमा पुग्न सफल भयौँ, घरभित्र अन्नपात, लत्ताकपडा, सबै सम्पति भरी घरभित्रै छ के गर्नु त्यहाँ जान सकिने अवस्था छैन, बाढीले पुरै जलमग्न छ, यो पानी घट्ला र म घर गएर समान सबै ल्याउँला भनेर हेरिरहेकी हुन्छु ।” घर आधा डुवेको छ त्यो बेला हामी निस्किहाल्यौँ उनले भनिन् “यस्तै पानी आए घर पुरै डुब्छ हाम्रो थुपारेर राखेको अन्नपात अनी अरु सम्पति कहाँ जान्छ होला, आशुँ झार्दै उनले भनिन्, सबै बगायो भने हामी बाँच्न सक्दैनौँ होला, के खाउँला हिउँदमा ।”
उनि मात्रै होइनन् यहाँका अधिकासं नागरिक सडकमा बास बसिरहेका छन् । भजनीकी राजकुमारी चौधरीको परिवार तीन दिनदेखि हुलाकी सडकमा छ । उनीहरु बच्चासहित सडकमा छन् । सडकको बसाईं कष्टकर भएको उनी बताउछिन् । ‘तीन दिनदेखि पानीमात्र खान पाइएको छ, घरमा भएको सबै खाद्यान्न बाढीमा भिज्यो होला”, उनले भनिन्, ‘बोकेर ल्याउन पनि पाइएन, अब जानसक्ने अवस्था पनि छैन । यहाँ बच्चाहरु भोकले आत्तिएका छन् ।’ छविराम पोखे्रलको परिवार पनि तीन दिनदेखि सडकमा छ । गाउँ पूरै जलमग्न भएपछि पोखेरेल र उनका छिमेकी ज्यान जोगाउन सडकमा आएका हुन् । ‘बाढी गाउँ पसेपछि ज्यान जोगाउन बस्तुभाउसहित सडकमा आयौँ”, उनी भन्छन्, “पहिल्यै बाढी आउनसक्छ भनेकाले भाग्न सक्यौँ, घर कुन अवस्थामा छ थाह छैन ।”
बाढी आएका कारण भजनी–३ की गीता बजगाईं साना बच्चाका आमा र गर्भवतीलाई कठिन भएकाले सहयोगीलाई सहयोग गरिदिन आग्रह गर्छिन् । ‘गर्भवती तथा बच्चामा आमा समस्यामा छन्’, उनी भन्छिन्, ‘पानीमात्र खाएर बच्चाले कहाँ मान्छन् ? रकम भएकाले चाउचाउ, चिउरा मगाएका छन्, बच्चाहरुले खान मानेका छैनन् ।
वडा नं ३ कै रतरानीदेवी चौधरी बाढी आएपछि हुलाकी सडकमा बसिरहेकी छन् । उनको दुई वर्षको बच्चासहित दुई बच्चा साथमा छन् । उनी बच्चासहित सडकमा भुइँमै बसेकी छन् । रतरानीदेवीलाई बच्चाले निकै सताएको छ । ‘भुइँमा दुई रात सुतियो, दुई बच्चा छन्, घाम, पानी र लामखुट्टेले सताए’, उनी भभन्छिन्, ‘भोकभोकै, बच्चाको पीडा, सडकको बास दुई वर्षजस्तै भएको छ ।’ त्यसैगरी भजनी नगरपालिका–८ का खेमराज जैसी र उनका छिमेकी पनि घर छोडेर सडक र आफन्तकहाँ आश्रय लिइरहेका छन् । बाढी प्रभावित बस्तुभाउसहित सडकमा बसिरहेका छन् । काढाढिककै सपना विकको १२ जनाको परिवार पनि बाढीका कारण सडकमै छ । उनीहरुले पानीबाहेक केही खान नपाएको सपना बताउछन् । ‘सरकारले कहिले बुझ्ला हाम्रो समस्या ?’, उनी भन्छन्, ‘हरेक वर्ष बर्खामा हाम्रो बिचल्ली हुन्छ, ठाउँ छोडेर जाने हाम्रो स्थिति छैन, हामीले कस्तो जिन्दगी पाएछौँ ?’
धनसरादेवी जैसी तीन दिनदेखि आफन्तका घरमा बसिरहेका बताउछन् । उनी छिमेकीले बोकेर उद्धार गरेको, पानीबाहेक केही खान नपाएको गुनासो गर्छिन् । विस्थापितमध्यकै भीमबहादुर विश्वकर्मा सडकको बास निकै कठिन भएको, खाद्यान्न बोक्न नसकिएकाले खान बस्नको समस्या भएको बताउछन् । ‘म मात्र होइन, विस्थापित सबैको समस्या छ’, उनी भन्छन्, ‘सयौँ परिवार विस्थापित छौँ, सयौँ परिवारकै अवस्था पीडादायी भएको छ ।’ भजनीका उद्धारकर्ता खेमराज पाण्डे विस्थापितमध्ये गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहलाई बढी समस्या भइरहेको बताउछन् । ‘गर्भवती, सुत्केरीले खान पाउनुभएको छैन’, उनी भन्छन्, ‘पानी सम्मको व्यवस्था भएको छ । अब पालिकाले उनीहरुलाई सुरक्षित सेल्टरमा लैजाने तयारी हुँदैछ ।’ सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन् । बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनीमा बाढीका कारण दुई हजार तीन सय परिवार विस्थापित भएका नौ सय बढी परिवार सडकमा बसिरहेका पालिकाले जनाएको छ ।
टीकापुर नगरपालिकामा तीन सय १६ घर डुबानमा परेका छन् । वडा नम्बर ६ मा दुई सय २६ र ७ का ९० गरी तीन सय १६ घर डुबानमा पर्दा दुई सय ३० परिवार विस्थापित भएका छन् । उनीहरुलाई उच्च घर, उच्च सडक तथा आफन्तकामा बस्ने व्यवस्था गरिएको छ । जानकी गाउँपालिका–४ र ७ मा बाढीले असर गरेको छ । त्यहाँ एक सय १५ घरपरिवार विस्थापित भई उच्च घरमा बसिरहेका र उनीहरुलाई तत्कालका लागि पालिकाले सुख्खा खानाको व्यवस्था गरेको छ । भजनी नगरपालिकाका प्रमुख केबल चौधरी बाढी प्रभावितलाई सहजताका लागि उद्धारसँगै, उच्च स्थानमा बसोबासको व्यवस्था मिलाउने, खाना, पानीको व्यवस्था भइरहेको बताउँछन् । ‘सयौँ परिवार विस्थापित भएका छन्, हरेक वर्ष बाढीले यस्तो समस्या निम्त्याउँछ’, उनी भन्छन्, ‘सहयोगी सङ्घसंस्थाको साथ लिएर प्रभावितलाई उद्धार र राहत दिने कार्य थालेका छौँ । सबैको पीडामा हामी मलहम लगाउने कोशिसमा छौँ ।’ बाढीबाट प्रभावित तथा विस्थापितलाई टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले पनि तयारी खाना, पानीको व्यवस्था गरेका छन् । यी पालिकामा भएका विस्थापितलाई सामूहिक ‘मेस’ चलाएर खाना खाने व्यवस्थालगायतका कार्यपालिकाबाट भइरहेका बताइएको छ ।