बैतडी। बैतडीमा महिनावारी भएका बेला गोठमै सुतेकी एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ ।बैतडीको तल्लोस्वराडमा पर्ने पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
वडा नम्बर ४ का अध्यक्ष जनक बहादुर चन्दले सर्पको टोकाईबाट बहिनीको मृत्यु भएको बताए । त्यो फ्याउली गाउँपालिकाबाट २ सय मिटर टाढा उनको घर पर्छ राती टोकेको रहेछ बैद्यलाई बोलाउन लागेछन् । महिनावारी भएको समयमा गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको वडा नम्बर ४ का कर्मचारी तथा स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए ।
गाईर्भैँसिकै गोठमा सुतेकी अनिताको महिनावारी भएको चार दिन भएको चन्दले बताए। मध्यराती सर्पले टोकेर घाइते बनाएको र आफन्तले बैद्यलाई बोलाउन गएको समयमा उनको घरमै मृत्यु बताए। किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन्। महिनावारी भएको बेला अधिकांस जसो महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताएका छन्। सो घटनाकाबारे प्रहरीलाई केही जानकारी नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रेम शाहीले बताए।