धनगढी। सुदूरपश्चिममा चार महिनामा ३ सय ५६ लागुऔषध कारोबारी पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार गत चैत १६ देखि असार मसान्तसम्ममा ३ सय ५६ लागुऔषध कारोबारी पक्राउ हुन्।
प्रदेशमा लागुऔषध कारोबारको प्रयोग र संलग्न कारोवारको घटनाहरु दैनिक जसो सुचनाहरु आइरहेकै पाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रहरीले आइतबार (हिजो साउन २१ गते) मात्रै ३ सय २० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। डडेल्धुरा अमरगढी नगरपालिका-१ स्याउलेबाट अछाम साँफेबगर नगरपालिका-४ बस्ने २९ बर्षीय अशोक स्वार र अछाम चौरपाटी गाउँपालिका-४ बस्ने ३२ वर्षीय गणेश धामीलाई पक्राउ गरिएको हो।
उनीहरू धनगढीदेखि अछामसम्म जाँदै गरेको अवस्थामा प्रहरी चौकी स्याउले डडेल्धुराबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा लागुपदार्थ भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरेको मोटरसाईकल समेत बरामद गरेको जानकारी दिएको छ। लागुऔषधसम्बन्धी घटनामै शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका-५ बस्ने २९ वर्षीय दीपक राना पनि पक्राउ परेका छन् । उनलाई धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागुऔषध खैरो हेरोइन १ ग्राम ३ सय ३० मिलिग्रामसहित प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लुकाई ल्याएको उक्त लागुऔषधसहित उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ। शनिबार साँझै कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियाबाट खैरो हेरोइन ८ सय २० मिलीग्रामसहित सोही नगरपालिका-२ तेघरीका २७ वर्षीय तेजबहादुर खड्कासमेत ३ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
शुक्रबार दिउँसो कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ मालुबेलाबाट ६० मिलिग्राम ब्राउन सुगरसहित कैलाली धनगढी उपमहानगरपालिका-५ का २५ वर्षीय अर्जुन चौधरी पक्राउ परे। पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा लागुऔषध कारोबारी पक्राउ पर्ने क्रम बढेको छ। प्रहरी तथ्यांकअनुसार एक सातामा करिब १० ग्राम लागुऔषधसहित १८ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बोहराका अनुसार गत चैत १६ देखि असार मसान्तसम्म १० किलो चरस बरामद भएको बताए। लागुऔषध ओसारपसारका २ सय १६ मुद्दा दर्ता भएकोमा ३ सय ५६ जनालाई पक्राउ गरिएको उनले बताए। यस्ता घटना बढ्नु घटना भएपनी कानूनको दायरामा कम आउने गरेको बताए।
उनले प्रहरी अपराध नियन्त्रणमा निर्ममताका साथ प्रस्तुत भएका कारण लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परिरहेको बताए। भारतसँगको खुला सिमानाका र जनचेतना अभाबका कारण प्रतिवन्धित लागु औषध बढी भित्रिएको बताए। प्रहरीले दुर्व्यसनीमा फसेकालाई सुधार गर्नका लागि पुनस्स्थापना केन्द्रको आवश्यकता महसुस गरी प्रदेश प्रहरीले प्रदेश सरकार र धनगढी उपमहानगरपालिकासँग समन्वय गरिरहेको जानकारी दिए।आफु प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएर आइसकेपछि मातहतका सवै प्रहरी युनिटहरुलाई अपराध नियन्त्रणमा निर्मम हुन निर्देशन दिएको र अहिले लागु औषधका घटनाहरुमा प्रहरी बढी केन्द्रित भएको जानकारी दिए। आफु लागुऔषधविरुद्धको योजना तयार गरेर स्वीकृतका लागि पठाइएको बताएका छन्।