धनगढी : महाकाली नदीको जलस्तर बढेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ । पुल जिर्ण भैसकेको कारणले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक भन्दा माथी नाघेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारीसाधन आवत जावतमा बन्देज लगाउने गरिन्छ ।
शारदा ब्यारेजको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल भारत मैत्री बस सेवा अन्तर्गत महेन्द्रनगरबाट हरिद्धार र दिल्ली चल्ने बसहरु यतिबेला पुल वारी नै रोकिएका छन। आज बिहान १० बजे देखि महाकाली नदीको जलस्तर बढन शुरु भएको हो । अहिले ४ बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ ।
जल स्तर बढ्ने क्रममै रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले डडेल्धुराको परिगाउँस्थित महाकाली नदीमा राखेको जल मापन प्रणालीका अनुसार नदीमा पानीको मात्रा सतर्कताको बिन्दु नाघेको छ ।
परिगाउँमा अहिले ५.८७ मिटर पानीको वहाव छ । सो ठाउँमा ५.८ मिटरको बहाव सतर्कताका बिन्दु हो भने ७.०० खतराको बिन्दु हो ।