धनगढी। कैलालीमा श्रीमान श्रीमतीबिच सम्बन्ध विच्छेदको अवस्था बढ्न थालेको जिल्ला अदालत कैलालीले तथ्याङ्कले पुष्टि गरेको छ। जिल्ला अदालत कैलालीमा श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने पुरुष(श्रीमान) को चार सय निवेदन परेको तथ्याङ्कमा पाइएको छ।
श्रीमानले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन सक्ने प्रावधान लागु भएपछि श्रीमतीसँग सम्वन्ध विच्छेद गर्न कैलाली अदालत धाउने पुरुषको संख्या बढ्दै गएको हो। आर्थिक वर्ष २०७९/८० मा श्रीमानले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न ४ सय संख्यामा मुद्दा दर्ता भएको जिल्ला अदालत कैलालीले जनाएको छ । अदालतबाट श्रीमानले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन सक्ने प्रावधान लागु भएपछि जिल्लामा सम्बन्ध विच्छेदका लागि महिला भन्दा पुरुषको संख्या झण्डै दोब्बर पुग्न थालेको हो।
जिल्ला अदालतमा गत आर्थिक वर्षमा ६ सय ९३ वटा सम्बन्ध विच्छेद सम्बन्धीका मुद्दा दर्ता भएकोमा त्यसमध्ये चार सय पुरुषका मुद्दा हुन्। ती मध्ये ४ सय ७९ मुद्दाको अन्तिम सुनवाई भएको र २१४ मुद्दा फछ्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ। सोही कानुनी व्यवस्थाकै कारण अदालतमा बिवाहपछि सम्बन्ध बिच्छेदका कारण घरायसी झगडा,मनमुटाव,सामाजिक सञ्जाल,एक अर्काप्रतिको बिश्वासमा कमी, अरुसँगको प्रेम सम्बन्ध लगायतले सम्बन्ध बिच्छेद बढेको पाइएको छ । संगै जिउने मर्ने बाचा कसम खाएर बैवाहिक बन्धनमा बाँधिएका जोडिहरु बिवाह भएको केही समयमै सम्बन्ध बिच्छेद गर्न आउने गरेका छन् ।
जिल्ला अदालत कैलालीका श्रेस्तेदार मानबहादुर विष्टले कतिपय घटनामा श्रीमान् विदेश जाँदा श्रीमती परपुरुषसँग लाग्ने, विदेशबाट पठाएको पैसा खर्च गरिदिने, श्रीमानले मादक पदार्थ सेवन गरी झैँ झगडा गर्ने लगायत कारण रहेको बताए । उनले विदेशमा रहँदा श्रीमतीले धन सम्पत्ति मासेको, परपुरुषसँग लागेको लगायत कारण कारणले सम्वन्ध विच्छेद गरेको बढी रहेको जानकारी दिए । कैलाली अदालतमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदकै लागि मुद्दाको संख्या छ।
आर्थिक बर्ष २०७६/७७ मा २ सय ४ मुद्धा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएकोमा १०३ मुद्दा फछ्र्यौट भएका थिए । आर्थिक बर्ष २०७७/७८ मा २ सय ५ मुद्धा दर्ता भएकोमा १३० मुद्दा फछ्र्यौट भएका थिए । यस्तै आर्थिक वर्ष २०७८/७९ मा यस्तो मुद्दाको संख्या बढेको देखीएको छ। सो अवधिमा ६ सय १० सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता भएकोमा ३ सय ९५ मुद्धा फछ्र्यौट गरिएको थियो। यस्तै २०७९/८० मा ६ सय ९३ वटा सम्बन्ध विच्छेद सम्बन्धीका मुद्दा दर्ता भएकोमा त्यसमध्ये चार सय पुरुषका मुद्दा हुन्। ती मध्ये ४ सय ७९ मुद्दाको अन्तिम सुनवाई भएको र २१४ मुद्दा फछ्यौट हुन बाँकी छन् ।