धनगढी : कैलालीकी मञ्जु रावलको हत्या अशं बिवादले भएको अनुसन्धानबाट खुलेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया रावलको सामुदायिक वनभित्र लास फेला परेको थियो । बेपत्ता भएको करिब डेढ महिनापछि मोहन्याल गाउँपालिका ५ को बाँसघारी सामुदायिक वनमा भेटिएको उनको शव सडिसकेको थियो । घटना स्थलमा भेटिएका अन्य प्रमाणका आधारमा शव मञ्जुकै रहेको प्रहरीले पुष्टि गर्यो । गत जेठ २५ गते वकिल भेट्न मसुरिया जान्छु भनेर हिँडेकी मञ्जु घर फर्केकि थिइनन् । सोही दिन उनको हत्या भएको प्रहरी अनुशन्धानबाट खुलेको छ । बेपत्ता भएको ९ दिनपछि उनका छोराले आमा हराएको भन्दै प्रहरीमा खोजतलासका लागी निवेदन दिएका थिए । त्यसपछि खोजतलासमा हिँडेको प्रहरीले बनमा शव फेला पारेको थियो । हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले लम्कीचुहा नगरपालिका ४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, सोही ठाउँकी बर्षा रावल, २४ वर्षीय भरत रावल र अछाम पञ्चदेवल विनायक नगरपालिका ६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई हत्या आरोपमा पक्राउ गरेको हो ।
फ्याक फेसबुक आइडी बनाएर मञ्जुलाई फ्लो गरिरहेका एक मुख्य पात्रले त्यस दिन मञ्जुलाई वकिलसंग भेटाइदिन्छु भनेर जंगलमा बोलाएको प्रहरीको अनुशन्धानबाट खुलेको छ । अमेरिका पनि जाँदै छु भनेर मञ्जुलाई भेट्न बोलाएको र बडैपुरबाट १३ किलोमिटर भित्रको जङ्गलमा उनको हत्या गरिएको देखिन्छ ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । मञ्जुलाई बोलाएका एक व्यक्ति, उनीसँगै रहेका अर्का व्यक्ति र सरिता रावल जङ्गलमा बसिरहेका हुन्छन् । मञ्जुले मसुरियाबाट आफूलाई बोलाएको व्यक्तिलाई फोन गरेर ‘ वकिल कहाँ भेटिन्छन्’ भनेर सोध्छिन् । ती व्यक्तिले ‘ म चालक पठाउँछु यतै आउनु हामी पनि भेटौँला वकिललाई पनि भेटाइदिन्छु’ भन्छन् ।
सरिता र ती व्यक्ति त्यही जङ्गलमा बस्छन् । अर्का एक युवकलाई मञ्जु लिन पठाइन्छ । चालकले मञ्जुलाई घटनास्थलतर्फ लग्छ । मञ्जुलाई आफूसँग लामो समय कुराकानी भइरहेको व्यक्तिसँग कुरा भएको विश्वासका साथ त्यहाँ पुग्छिन् । तर, उनले विश्वास गरेको व्यक्तिबाटै यत्ति जघन्य र बर्बर अपराध हुनसक्छ भन्नेबारे उनलाई कुनै अनुमानसम्म पनि हुँदैन । ‘खोलाभन्दा केही माथि पुगेपछि त्यहाँ जबरजस्ती करणी गरेर मारेको देखिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘दुई जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
भित्री वस्त्र घटनास्थल भन्दा केही पर भेटिएको हुँदा बलात्कारपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । सरिता रावल भने करिब ५० मिटर तल कोही आउन सक्छ भनेर रेक्की गरिरहेको अनुसन्धानबाट खुलेको छ । अहिले प्रहरीले सरिता रावलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मञ्जुकी सौता गोमा रावल, उनकी छोरी वर्षा, भतिजा भरत र सरिता रावल छन् । अझै केहीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अंश विवादले हत्या
२०७७ सालमा जनक रावलको मृत्युपछि मञ्जु र गोमाबीचको खटपट अझै बढ्छ । कान्छी श्रीमती मञ्जु श्रीमानसँगै बसिरहेकी हुन्छिन् भने गोमा रोजगारीका लागि भारतमै बढी रहन्छिन् । श्रीमानको निधन भएपछि सम्पत्तिमा मञ्जु अझै हाबी भएको गोमालाई मन परिरहेको हुँदैन । आफूलाई बेला बेलामा गोमाबाट ज्यान मार्नेसम्मको धम्की आएको भन्दै मञ्जुले आफ्नो सुरक्षाका लागि इलाका प्रहरी कार्यालय लम्कीमा समेत उजुरी दिएकी थिइन् ।
श्रीमानको मृत्युपछि मञ्जुले लम्की चुहा नगरपालिका( ४ को वडा कार्यालयमा मृत्यु दर्ता गराइन् । यसअघि नै मञ्जु र श्रीमानबीच सम्बन्ध बिच्छेद भइसकेको खुल्छ । त्यसपछि फेरि मृत्यु दर्तामा श्रीमती कायम गरेपछि गोमा र मञ्जुको विवाद बढ्छ । गोमाले मृत्यु दर्ता बदर गर्न भन्दै वडा कार्यालयमा निवेदन दिन्छिन् । जिल्ला प्रशासन कार्यालय कैलालीले सम्बन्ध बिच्छेद भइसकेपछि पनि मृत्यु दर्तामा श्रीमती कायम गर्न भन्दै निवेदन दिएकी मञ्जुविरुद्ध कारबाही गर्न भन्दै निर्देशन जारी हुन्छ ।
२०७९ साल फागुन २६ गते मञ्जुलाई पक्राउ गरी झूटा विवरण पेस गरेको भन्दै मुद्दा चल्छ । कैलाली जिल्ला अदालतले २० हजार धरौटी तोक्छ र तारिखमा उनी छुट्छिन् । यो मुद्दा चलिरहेकै बेला गत जेठ २५ गते वकिललाई भेट्न भन्दै गौरीगङ्गा जाँदै गर्दा उनी बेपत्ता हुन्छिन् ।
ढिलो गरी इलाका प्रहरी कार्यालय लम्कीमा मञ्जु हराएको निवेदन पुग्छ । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको हुन्छ । यता प्रहरीले घटनाबारे तथ्य जानकारी नपाउँदै मञ्जु हराएको विषयमा सामाजिक सञ्जालमा सार्वजनिक हुन्छ । उनको हत्यामा संलग्नहरू आफू पक्राउ पर्ने डरले फरार हुन थाल्छन् । त्यसपछि प्रहरीलाई अभियुक्त खोज्न सकस हुन्छ ।
असार १३ मञ्जुका भाइ सुरेन्द्र कार्कीले सुर्खेतबाट इलाका प्रहरी कार्यालय लम्की आएर ‘भान्जाले हराएको भन्दै निवेदन दिएकी दिदी केही व्यक्तिबीच खटपट भएको हुँदा गोमा रावलले बेपत्ता पारेको हुनसक्छ भन्दै’ अनुसन्धान गर्न किटानी जाहेरी दिन्छन् । त्यो बेलासम्म प्रहरीले पनि सुराक पाइसकेको हुन्छ । असार २५ गते उच्च अदालतमा मुद्दाको पेसीका लागि गएको बेला गोमा पक्राउ पर्छिन् ।
‘घटना भएको दिन म नेपालमा थिइनँ’, प्रहरी बयानमा गोमाले भन्छिन् । तर, प्रहरी केरकार बढी नै भएपछि उनले घटना आफ्नो योजनामा भएको सुनाउँछिन् । ‘म नभए पनि मार्न योजना बनाएर पैसा दिएको हो’, उनले पछि प्रहरीलाई भन्छिन् ।
त्यसपछि उनले भनेका व्यक्तिहरुको प्रहरीले खोजी सुरु गर्छ । घटनाबारे प्रहरीलाई ढिलो जानकारी दिँदा र सामाजिक सञ्जालमा उनी हराएको भन्ने खबर आइसक्दा प्रहरीलाई अभियुक्तहरू फरार भइसकेको बुझ्न समय लाग्दैन । उनीहरुको खोजी नेपालमा मात्रै होइन भारतमा पनि सुरु हुन्छ । गोमाकै बयानका आधारमा पक्राउ पर्छन् अन्य तीन जना पनि ।
गोमाले पक्राउ पर्दा भनेका कुरा अन्य अभियुक्तबाट पुष्टि हुन्छ । तर, प्रहरीले लास भेट्दैन । फेरि प्रहरी शवको खोजीमा निस्किन्छ । शवबारे सबैभन्दा धेरै जानकारी सरितालाई हुन्छ । उनको बयानका आधारमा प्रहरीले आइतबार शव फेला परेको हो ।
प्रहरी अधिकारीहरू अहिले पनि अनुसन्धान पूरा नभएको बताउँछन् । घटनामा संलग्न केही व्यक्तिहरू अझै पनि पक्राउ परेका छैनन् ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शङ्कर भन्छन्, ‘विभिन्न कोषबाट अनुसन्धान गरेर घटनाका मुख्य योजनाकारसहितका ४ जना पक्राउ गर्न हामी सफल भयौं । अझै केहीको खोजी भइरहेको छ ।’
उच्च प्रहरी स्रोतका अनुसार गोमाले श्रीमानको निधनपछि आफू अंशको एक्लो हकवाला हुने र त्यसका लागि मञ्जुको हत्या गर्नुपर्ने योजना भारतमै बनाएकी थिइन् । त्यसका लागि पहिलो चरणमा ४० हजार रुपैयाँ अभियुक्तहरूलाई उपलब्ध गराएको पनि प्रहरी अधिकारीहरू बताउँछन् । त्यसपछि फेरि मञ्जुसँग अभियुक्तहरूबाटै १० लाख माग गरिएको अडियो प्रहरीले फेला पारेको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
योजनाबद्ध रुपमा ‘कन्ट्रयाक्ट किलर’ मार्फत मञ्जुको हत्या गरिएको चन्दले बताए । उनीहरु पेसेवर ‘कन्ट्रयाक्ट किलर’ नभए पनि मञ्जु हत्या प्रकरणमा उनीहरुले पैसाको डिल गरेर योजनाबद्ध अपराध गरेको प्रहरीको ठहर छ ।