धनगढी :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादूर शाहले गेटामा अब मेडिकल बिश्वबिद्यालय बनाउन कहीँ कतै कन्फ्युजन नरहेको दावी गरेका छन् । बिहिबार गेटामा निर्मित भवन तथा सञ्चालनमा आउन लागेको एक सय शैयाको अस्पताल निरिक्षण गर्दै शाहले यहाँ मेडिकल बिश्वबिद्यालयनै बन्ने दावी गरेका हुन् ।
हाम्रो पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादूर देउवा बर्तमान प्रधानमन्त्री पुस्पकमल दाहाल लगायत गठबन्धनका सबै नेताहरु गेटामा मेडिकल बिश्वबिद्यालय बनाउनुपर्नेमा एकमत हुनुहुन्छ उनले भने “बजेट बक्तब्यमा केही त्रुटी भएको हो तर त्यसपछि अर्थमन्त्री ज्युले संसदमा प्रस्ट भनिसक्नुभाछ गेटामा मेडिकल बिश्वबिद्यालयनै बनाउने भनेर त्यस कारण यहाँ मेडिकल बिश्वबिद्यालय बन्नेमा कन्फ्युजन छैन ।” केन्द्रले बिश्वबिद्यालय बनाउने तयारी गरिरहँदा अहिले यहाँ एक सय शैयाको अस्पताल शुरु हुँदैछ मुख्यमन्त्री शाहले भने “अहिले एक सय शैयाको अस्पताल शुरु हुन्छ, भोली बढ्दै गएर ३ सय शैयाको अस्पताल शुरु हुन्छ र मेडिकल बिश्वबिद्यालय सञ्चालनका प्रक्रिया शुरु हुँदै जानेछन्, यसमा हामी प्रदेश सरकारपनि खबरदारी र सहकार्य गरिरहेका छौँ हामी कसरी हुन्छ सहकार्य र समन्वय गरी मेडिकल बिश्वबिद्यालय सञ्चालन गराउने पक्षमा छौँ ।”
बिहिबार सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादूर शाह सहित ४ जना मन्त्रीहरुको टोलीले गेटामा निर्मित भवन तथा तयार पारिन लागेको अस्पताल निरिक्षण गरेका थिए । यस क्रममा शाहले अब यहाँ मेडिकल बिश्वबिद्यालय बन्नबाट कसैले रोक्न नसक्ने दावी गरेका हुन् । मुख्यमन्त्री शाहले मेडिकल बिश्वबिद्यालय सञ्चालनका लागी संघ सरकारसंग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिश्वबिद्यालयका लागी संघ सरकारबाट कुनै कमजोरी भएपनि प्रदेश सरकार जिम्मा लिएर काम गर्न तयार रहेको शाहले बताए ।
कैलालीको गेटामा पहिलो चरणमा न्यूनतम सेवासहित एक सय शैयाको अस्पताल सञ्चालनका लागी आवश्यक उपकरणहरु जडान भइरहेका छन् । तत्काल ३ सय शैयाको अस्पताल सहित मेडिकल बिश्वबिद्यालय बनाउनुपर्ने अडान कायमै रहँदा सरकारले एक सय शैयाको अस्पताल सञ्चालनको तयारी तिब्र पारेको हो । अस्पताल सञ्चालनका लागी संघीय मन्त्रिपरिषद्ले १ सय ४१ जनाको दरबन्दीमार्फत न्यूनतम सुविधासहितको अस्पताल सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो । गेटामा अस्पताल सञ्चालनको तयारी भइरहँदा यहाँका स्थानियले भने, सरकारले एक सय शैयाको अस्पताल सञ्चालन गरी बिश्वबिद्यालयको सपना साकार हुन नदिने आशंका गरेका छन् ।
राष्टपति रामचन्द्र पौडेलले चालु आर्थिक बर्षको निति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दा गेटामा बिश्वबिद्यालय बनाउने उल्लेख थियो तर बजेट बक्तब्यमा अर्थमन्त्री प्रकाश सरण महतले गेटामा एक सय शैयाको अस्पताल सञ्चालन गर्ने उल्लेख गरेपछि यहाँका नागरिक आन्दोलनरत थिए । गेटामा कम्तिमा ३ सय शैयाको अस्पताल सञ्चालन गरी मेडिकल बिश्वबिद्यालय सञ्चालन हुनुपर्ने माग जारी रहेका बेला सरकारले एक सय शैयाको अस्पताल सञ्चालनका लागी आवश्यक तयारी तिब्र पारेको हो । अस्पताल सञ्चालनका लागी आवश्यक दरबन्दी स्वूकृत संगै उपकरण जडानको कामपनि तिब्र रुपमा अगाडी बढेको छ । अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले उपकरणसमेत पठाएको छ । सय शैयाको अस्पताल सञ्चालनका लागि बेड, प्रयोगशालाका सामान र अल्ट्रासाउण्ड लगायतका उपकरणहरु पुगिसकेका छन् । अस्पतालका लागि एक्सरे मेसिन लगायतका समान जडान भइरहेको छ । तत्काल एक सय शैयाबाट अस्पताल सञ्चालन गरी बिस्तारै ३ सय शैयासम्म पुगाउन सकिने अस्पतालका निर्देशक डा.प्रमोद जोशीले बताएका छन् । न्यूनतम सेवाको अस्पताल साउनभित्रै सञ्चालनमा आउने अस्पतालले जनाएको छ ।
संघर्ष समितिको आशकां
सरकारले एक सय शैयाको अस्पताल सञ्चालन गर्ने तयारी गरिरहँदा पनि गेटा मेडिकल बिश्वबिद्यालय सञ्चालनार्थ संघर्ष समितिले आन्दोलन स्थगित गरेको छैन । ३ सय शैयाको अस्पताल सहित मेडिकल बिश्वबिद्यालय बनाउनुपर्ने माग अगाडी सारेको सघंर्ष समितिले एक सय शैयाको अस्पताल सञ्चालन गरी सुदूरपश्चिमबासीलाई झुक्याउन खोजिएको आरोप लगाएको छ । संघर्ष समिति सह संयोजक आनन्द भट्टले अहिले १ सय शैया सञ्चालन गरी यहाँको बिकासलाई झन पछाडी धकेल्ने कुचेस्टा भइरहेको बताए । हामीले एक सय शैयाको अस्पताल मागेका होइनौँ सय शैयाका अस्पताल हामीसंग नभएका होइनन् भट्टले भने “हामीलाई कम्तिमा ३ सय शैयाको अस्पताल चाहिएको हो अनी मात्रै ३ बर्षपछि मेडिकल बिश्वबिद्यालय सचालन गर्न मिल्छ, अहिले सय शैयाको अस्पताल शुरु गरेर कहिले ३ सय शैया पुग्छ र कहिले मेडिकल बिश्वबिद्यालय बन्छ यो सरासर ढाँट्ने कुरा हो ।”
समितिले १ सय शैया नभई तत्काल ३ सय शैयाको अस्पताल सञ्चालन गरी यसैै अधिवेशनबाट गेटामा सहिद दशरथचन्द राष्ट्रिय चिकित्सा बिश्वबिद्यालय सम्बन्धी बिधेयक पारित गनुपर्नेमा जोड दिएको छ । गेटामा झण्डै ५ अर्बका भौतिक संरचनाहरु तयार छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झण्डै पाँच अर्ब खर्चेर चिकित्सा शिक्षा अध्ययन तथा अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार पारेको हो । गेटामा प्रशासनिक भवन, अस्पताल भवन, प्रयोगशाला तथा चिकित्सा शिक्षा अध्यापनका लागि भवन तयार छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पूर्वाधार विकास समितिले छात्राबास भवन तथा आवासका लागि समेत भवन निर्माण गरेको छ । प्रशासन तथा अस्पतालका लागि आवश्यक फर्निचरसमेत गरिद गरिएको छ । पाँचवटा ठेक्का मार्फत थप दुई अर्ब २० करोडका संरचना निर्माणको काम भने जारी छ ।