अछाम। अछाममा एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका-३ लाक्षीमना निवासी उज्जली आउजीको घाँस काट्न गएको बेला भीरबाट खसेर मृत्यु भएको हो।
उनको आज दिउँसो मृत्यु भएको हो। गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए। माथिबाट करिब तीनसय तह खसेर निधन भएको बताइएको छ।
“निकै अप्ठेरो ठाउँमा खसेकी रहेछन्, त्यहाँ त जाने बाटो समेत थिएन । हामीले अर्कै ठाउँबाट गएर शव ल्याएका छौं” बोगटीले भने। अप्ठेरो भीरमा घाँस काट्न जाने र खसेर मृत्यु भएको घटना हरेक वर्ष दोहोरिने गरेको छ।