धनगढी :धनगढी उपमहानगरपालिकाले २०७९ फागुन १० गते मोहनापुल–अत्तरिया ६ लेन सडकमा बिजुली जडान गरेपछि सवारी दुर्घटना ह्वात्तै घटेको छ। ६ लेन सडकमा रातीको समयमा निकै बढी दुर्घटना हुने गरेकोमा पछिल्लो समय दुर्घटनामा निकै कमी आएको हो । धनगढी चौराहा देखी गोदावरी नगरपालिका सिमानासम्म सडक बत्ती जडान भएपछि एक जनाको मात्रै दुर्घटनामा मृत्यु भएको छ । बिजुली गएका बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीमा कार्यरत प्रहरी हल्दार जनकराज धामी सवार मोटरसाइकल गत वैशाख ७ गते दुर्घटना भएको थियो । उनको तीन दिनपछि धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्ला ट्राफिक कार्यालय, कैलालीका अनुसार पछिल्लो समय सडक बत्ती जडान भएसंगै मोहना अत्तरिया ६ लेन सडकमा हुने दुर्घटना रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्याँक अनुसार २०७८/७९ मा ४५ वटा सवारी दुर्घटना भएका थिए। २०७९/८० मा २४ वटा मात्र दुर्घटना भएका छन्। बिजुली जडानपछि भने दुर्घटना कमि आएको जिल्ला ट्राफिक कार्यालय, कैलालीका प्रमुख बिरेन्द्र जोहारीले बताए। उनले पहिलो आर्थिक वर्षमा ४५ दुर्घटना भएको बताए। भाइते ६७ जना थिए। गएको आर्थिक वर्षमा १२ जनाको ज्यान गएको छ। तर २४ वटा मात्र दुर्घटना भएका छन्। तीन÷चार महिनामा चार वटासम्म मात्र दुर्घटना भएका छन्।’
जिल्ला ट्राफिक कार्यालय, कैलालीको तथ्याँक अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४५ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। ४८ पुरुष, १७ महिला र २ बालबालिका गरेर ६७ घाइते भएका छन्। १४ वटा पशु मरेका छन भने तीन पशु घाइते भएका छन्। तर आर्थिक वर्ष २०७९/८० मा २४ वटा मात्र सवारी दुर्घटना भएका छन्। १२ जनाको मृत्यु भएको छ। १७ पुरुष र तीन महिला गरेर २० जना घाइते भएका छन्। नौ चौपाया मरेका छन भने दुई घाइते भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मोहनापुल–अत्तरिया ६ लेन सडकमा दुर्घटनामा कमि आएको हो।
जिल्ला ट्राफिक कार्यालय, कैलालीका प्रमुख जोहारीले बिजुली जडान, ट्राफिक सचेतना, सडकमा ट्राफिक चिन्ह तथा सन्देशका कारण दुर्घटनामा कमि आएको बताए। उनले भने, ‘बत्ति जोड्ने। सवारी जाँचमा कडाइ गर्नु, चालक सचेत हुनु, लगायतका कारण दुर्घटनामा कमि आएको छ।’ गत आर्थिक वर्ष २०७९/८० मा पाँच जनाको सडकमा राखिएका डिभाइडरमा सवारी ठोक्किएर मृत्यु भएको छ।


