कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा चरम रुपमा आर्थिक अनियमितता मौलाएको नेकपा एमालेले आरोप लगाएको छ। नेकपा एमाले कृष्णपुर नगरकमिटिले आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाभित्र आर्थिक अनियमितता मौलाउदै गएको आरोप लगाएको हो।
‘नगरमा भैरहेका भ्रष्ट्राचार, आर्थिक अनियमितताका लागि हामीले गत वर्ष मंसिर १८ गते नै ज्ञापन पत्र बुझाईसकेका छौ’ पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका कृष्णपुर नगरकमिटि अध्यक्ष गणेश सिँ ऐरीले भने ‘ज्ञापन पत्र बुझाउदा पनि त्यस्ता गतिविधिहरु नरोकीदा हामीले सुचनाको अधिकारम रहेर सुचना माग गरेका थियौ, तर सुचना दिन आलटाल गरियो ।’ उनले नगरपालिकामा माग गरेका सुचनाहरु आंशिक रुपमा मात्रै प्राप्त भएको बताए।
उनले सुचनाको आधारमा र स्थलगत अनुगमन पश्चात नगरमा भैरहेका बेथितिहरुका बारेमा यही असार ३१ गते नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको बताए । उनले ध्यानाकर्षण पत्रमा ३ दिनभित्र जवाफ दिन भनिएपनि एक हप्ता सम्म पनि सुनुवाई नहुँदा पत्रकार सम्मेलन नै गरेर नगरमा भैरहेका अनियमितताहरु सार्वजनिक गरिएको बताए। नेकपा एमालेले विभिन्न ३९ शिर्षकहरुमा अनियमितता भएको आरोप लगाएको छ । ति अनियमितताहरुको चित्तबुझ्दो समाधान नभए आगामी दिनहरुमा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गरिने अध्यक्ष ऐरीले बताए।
एमाले कृष्णपुरले बजेट निर्माण गर्दा ७ चरण पुरा गर्नुपर्ने भएपनि बजेट कार्यान्वयनको समयसम्म कुनै चरण नै पार नगरी मनोगत ढंगले बजेट पेश गरिएको, बजेट जनमुखी आवश्यकताका आधारमा नभई नेता कार्यकर्ता केन्द्रित बनाईएको, नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहमा विभेद गरिएको, सेवाक्षेत्रभित्रका नभई गलत मनसायका साथ बाहिरबाट उपभोक्ता समितिको पदाधिकारी चयन गरिएको, टेण्डर प्रकृयाबाट नभई कोटेशन मार्फत कम गुणस्तर एवम् म्याद कम भएका औषधीहरु स्वास्थ्य शाखाको स्टोरमा राखिदा नष्ट गर्नुपर्ने अवस्था आएकाले गुणस्तरयुक्त र मापदण्ड अनुरुपका औषधी नल्याई बजेटको दुरुपयोग गरिएको, विगतका स्थानिय सरकारले ल्याएका नगरका गौरवका योजना, वहुवर्षिय क्रमागत योजना तथा अधुरा र अपुरा योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) को वास्ता नगरी डिपिआर माथी अर्को डिपिआर तयार गरेर बजेट दुरुपयोग गरिएको, सरकारी स्वामित्वको जग्गा आर्थिक चलखेल गरी कानुन विपरित व्यक्तिलाई दिईएको लगायतका आरोपहरु लगाएको छ। त्यतिमात्रै नभई एमाले कृष्णपुर नगरकमिटिले ३९ वटा बुँदाहरु तयार गरी विभिन्न शिर्षकममा अनियमितता भएको आरोप लगाएको छ।
शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार लगायतका अन्य शिर्षकहरुमा पनि पहिलो वर्षमै नगरमा चरम रुपमा अनियमितता भएको एमाले कृष्णपुर नगरकमिटि अध्यक्ष ऐरीले जानकारी दिए । उनले पहिलो वर्षमा नै कृष्णपुरमा आर्थिक वेथितिको चाँङ लागेकाले बाध्य भएर आफुहरुले आवाज उठाउनु परेको बताए । उनले नगरमा भैरहेका बेथितिहरुका विषयमा जनतालाई जानकारी गराई सो आधारमा आन्दोलनका थप कार्यक्रमहरु सञ्चालन गरिने बताए। उनले अनियमितता गरिएका रकमहरु फिर्ता गरी पारदर्शिता कायम गर्नुपर्ने माग समेत राखेका छन।