दार्चुला। दार्चुलामा ट्राफिक प्रहरीले बस चालकमाथि हातपात गरेका छन्। अस्थायी ट्राफिक प्रहरी पोष्ट गोकुलेश्वरका इन्चार्ज प्रहरी हवल्दार नवीन ठगुन्नाले महाकाली यातायाताको सु.प.प्र ०२००१ ख ९४८ बसका चालक रमेश खत्रीमाथि हातपात गरेका हुन्।
आज बिहान उनलाई गोकुलेश्वर बजारमा हर्न बजाएको निहुँमा ट्राफिक हवल्दार ठगुन्नाले कठालो समात्दै कुटेका हुन्। ठगुन्नाले बसबाटै कठालो समातेर बाहिर निकाली लात्ताले हान्दै करिब दस मिटरको दुरीमा रहेको अस्थायी प्रहरी पोष्टमा ल्याएको चालक खत्रीले बताए। गोकुलेश्वरमा महेन्द्रनगर, धनगढी लगायतका ठाउँबाट पुगेका बस, जिपहरु र छोटो दुरीमा चल्ने सवारी साधनको भिड थियो। उनले बस पार्किङमा लगाउँदै गर्दा हर्न बजाएका थिए।
महाकाली यातायात, पवनदुत यातायात लगायत अन्य यातायात व्यवसायीले बस, जिपहरु बिच सडकमा लगाएर सो घटनाको विरोध गरेका थिए। ठगुन्नाले चालक खत्री र यातायात व्यवसायीहरुसामु माफी मागेपछि बस, जिपहरु बिच सडकबाट हटाइएका थिए।