दार्चुला।दार्चुलाको दुहुँ गाउँपालिका– ४ दौला (तत्कालीन धारी गाविस)का अमरबहादुर बम २० वर्षदेखि हत्या आरोपमा युनाइटेड इमिरेट्स अरब (युएई)को जेलमा छन् ।
सन् २००३ मा दुबईको क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा दोषी ठहर गरी त्यहाँको उच्च न्यायालयले अमरलाई मतियारका रूपमा मृत्युदण्डको फैसला सुनाएको थियो । त्यहाँको कानुनले दोषी ठहर गरे पनि जेल प्रशासनका अधिकारीले निर्दोष ठान्दा उनी अहिलेसम्म मृत्युदण्डबाट जोगिएका छन् ।
वैदेशिक रोजगारीका लागि सन् २००२ मा युएई पुगेका अमर १९ जनवरी २००३ मा दुबईको इन्डियन क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्या भारतकै मनोज मुदाना र करनसिंह राजपुतले गरेका थिए । अमर उनीहरूका गाडीचालक थिए । उनलाई गाडी कुर्न लगाएर दुईजना क्लबभित्र छिरी सेठ्ठीको हत्या गरेका थिए । त्यसबारे अमरलाई थाहै थिएन । तर, घटनाको करिब एक वर्षपछि दुबईको उच्च अदालतले मनोज र करनलाई हत्या अभियोगमा तथा अमरलाई मतियारका रूपमा मृत्युदण्डको फैसला सुनाएको थियो । अहिलेसम्म मृत्युदण्डको सजायबाट जोगिएका उनलाई छुटाउन नेपाल सरकारले कुनै पहल लिएको छैन ।
नयाँ पत्रिकासँग गरिएको एक संवादमा उनले घटनाको विवरण सुनाउदै आफु निर्दोष रहेको र कुनै अपराध नगरी आफू परिबन्दमा फसेको बताए । अमरलाई जेलमुक्त गराउन युएईमा रहेका नेपालीले बचाउ अभियान नै सुरु गरे, मानव अधिकारवादी, नागरिक समुदायलगायतले वेला–वेला अमरका बुबा कर्णबहादुर र श्रीमती धनमतीलाई काठमाडौं पनि ल्याए र राष्ट्रपति, प्रधानमन्त्रीदेखि सम्बन्धित सरकारी अधिकारीलाई ज्ञापनपत्र बुझाउन लगाए । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले युएई सरकारलाई अनुरोधपत्र पठाएका थिए । त्यस्तै, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले युएई भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अल मोक्तमलाई भेटेर अमरलाई आममाफी दिई नेपाल पठाइदिन अनुरोध गरेको युएईका लागि पूर्वकार्यवाहक राजदूत नेत्रबहादुर टण्डनले बताए ।
मृत्युदण्ड सुनाएको २० वर्ष भए पनि अमर भाग्यवश बाँचिरहेका छन् । त्यसको कारण भनेको मुख्य अपराधी भारतीय नागरिक हुनु हो । भारत र युएईबीच सुपुर्दगी सन्धि छ । त्यसअनुसार युएईले उनीहरू भारतलाई बुझाउनुपर्छ । तर, भारतले ती दुईजना अपराधीलाई आफ्नो देश लैजान पहल गरेको छैन । नेपाली समाजका पूर्वअध्यक्ष ढकालका अनुसार निर्दोष अमरको केशलाई भारतसँग कुरा गरेर, युएईमा अलग–अलग मुद्दाको रूपमा स्थापित गर्न सक्नुपर्छ । प्रधानमन्त्री तहबाट नै यो पहल भयो भने उद्धार गर्न सकिन्छ ।
उता युएईमा मृत्युदण्डको सजाय सुनाइएका अमर बम २० वर्षसम्म जेलमा छन्, यता उनकी श्रीमती ३४ वर्षीया धनिशा बम अझै पनि श्रीमान् फर्किने आशामा कुरिरहेकी छिन् । विवाह गर्दा धनिशा १४ वर्षको मात्रै थिइन् । घरपरिवारको भविष्य सोचेर अमर विवाह गरेको १५ दिनमै भारतको दिल्ली पुगेका थिए । त्यसअघिदेखि नै उनी दिल्लीमा ट्याक्सी चलाउँथे । वर्ष दिनमा घर फर्किने र सबै ऋण तिरेर नयाँ जीवन सुरुवात गर्ने बाचा धनिशासँग गरेका थिए ।
तर, सन् २००३ मा अचानक परिवारसँग सम्पर्कविहीन बनेका उनी दुबईको जेलमा परेको पछि मात्रै थाहा भयो । सन् २००७ मा त्यहाँको न्यायालयले उनलाई मृत्युदण्डको सजाय तोकेको पनि परिवारले थाहा पायो ।नयाँ घर बनाउन पैसा कमाउने भनेर घर छाडेका अमर फर्किएनन्, घर पनि नयाँ बनेन । अब धनिशाको एउटै आस छ, विवाहपछि सँगै जीवन बिताउन नपाए पनि अब चाँडै जिउँदो फर्किन पाऊन् र बाँकी जीवन सुखमय बनाउन पाऊँ । उनले अमर सुत्ने कोठामा भगवान्का मूर्ति राखेर पूजा गर्ने गरेकी छिन् । ‘श्रीमान्को याद आउँदा फोटो हेर्छु,’ उनले भनिन्, ‘रातदिन श्रीमान्को न्यायका लागि प्रार्थना गरिरहेकी छु ।’
अमरले घरमा फोन गरिरहन्छन् । छिट्टै फर्किने सपना पनि देखाइरहेका छन् । ‘एक–दुई महिनामा फोन÷भिडियो कल आउँछ । न्याय पाएर छिट्टै फर्किन्छु भन्नुहुन्छ,’ धनिशाले भनिन्, ‘श्रीमान्को लामो आयुको कामना गर्दै साउनमा हरियो चुरा लगाएर बसेकी छु, उहाँ आउने बाटो कुरिरहेकी छु ।’
धनिशालाई ७२ वर्षीय ससुरा कर्णबहादुर बमले ढाडस दिएका छन् । छोराको रिहाइका लागि गाउँमा भात खाने खेत बेचेर २१ पटक काठमाडौं धाइसकेका छन् । दुईपटक त धनिशा पनि ससुरासँगै काठमाडौं पुगेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री बाबुराम भट्टराई तथा त्यसपछिका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर श्रीमान्को रिहाइका लागि पहल गरिदिन अनुनय गरिन् ।‘हरेकपटक सरकार परिवर्तन हुँदा प्रधानमन्त्री र मन्त्रीलाई भेटेर छोराको रिहाइका लागि अनुरोध गर्दै आएको छु,’ कर्णबहादुरले भने, ‘उमेरले अब हिँडडुल गर्न सक्दिनँ । तैपनि एकपटक फेरि ऋण काढेर अहिलेका राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेटेर बिन्ती बिसाउने मन छ । कोही बाहिरबाट आएर अमरको घर सोध्दा छोरा फर्किन्छ कि भन्ने आशा पलाउँछ ।’