कैलाली। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले वन फँडानी गर्ने जोसुकै भए पनि नछोडिने बताएका छन्। गोदावरी नगरपालिका–१२, रातोपानी सामुदायिक वनको निरीक्षण लगत्तै पत्रकारसँगको भेटघाटमा मन्त्री धामीले यस्तो बताएका हुन्।
वन क्षेत्रमा व्यापक रुपमा रुख कटान गरी काठ तस्करी भइरहेको उपभोक्ताले गुनासो गरेपछि मन्त्रालयका सचिव वेकुमार ढकालसहितको टोली लिएर मन्त्री धामी रातोपानी सामुदायिक वनको निरीक्षण तथा अनुगमनमा गएका थिए। मन्त्री धामीले छानबिन गरेर वन फडानीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए। उनले भने, ‘वन फँडानी भएको देखिएको छ, फँडानी गर्ने जोसुकै भए पनि कारवाहीको दायरामा ल्याइनेछ, मन्त्रालयले यसको छानबिन गर्छ। संलग्नलाई कारवाही हुन्छ।’
मन्त्रीसहितको टोलीले सामुदायिक वनभित्र रुख कटान गरिएको केही क्षेत्रको निरीक्षण गरेको मन्त्री धामीका स्वकीय सचिव रमेश भट्टराईले जानकारी दिए। उनका अनुसार सामुदायिक वनभित्र सालका २२ वटा रुख कटान भएको स्थानीय उपभोक्ताले बताएका छन्। सामुदायिक वनका पदाधिकारीको संलग्नतामा वन फँडानी भएको उपभोक्ताको आरोप छ। रुख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा उक्त वन उपभोक्ता समूहको कार्यसमितिका दुई जना सदस्य पक्राउ परेका छन्।
उपभोक्ता समितिका सदस्य टेकराज ओझा र कर्णबहादुर बिकलाई पक्राउ गरेर वन मुद्दा चलाइएको सव वन डिभिजन कार्यालय अत्तरियाले जनाएको छ। वन फडानी भएको खबरपछि केही दिनअघि निरीक्षणमा गएको टोलीले दुई जनालाई पक्राउ गर्नुकासाथै दुईसय थान चिरान कडी र ५० वटा फ्रेमसमेत बरामद गरेको सव वन डिभिजन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले जानकारी दिए । उनले वन फँडानीमा सामुदायिक वनका पदाधिकारीको संलग्नता रहेको बताए।