दार्चुला । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका फेरि खोलेको छ । भारतले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोल्ने जानकारी हिजो नै दिएको थियो ।
भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
व्यास गाउँपालिका-५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले आग्रह गरेको छ । भारतले यसअघि गएको असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोलेको थियो । भारतले वर्षाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ ।असार २६ गते खोलिएको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो ।