काठमाडौं । भारतले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुनसक्ने देशभित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय भएको दाबी भारतीय सञ्चार माध्यमको छ ।
नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ । भारतको पछिल्लो निर्णयले नेपाललगायत छिमेकी मुलुकलाई ठूलो धक्का लाग्नेछ । भारतले भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाएको हो ।
गत आर्थिक वर्षमा नेपालले भारतबाट १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो मात्रै चामल आयात गरेको थियो । यो तथ्यांक आर्थिक वर्ष २०७९–८०को ११ महिनाको हो । यसरी हेर्दा मासिक एक अर्बभन्दा बढीको चामल आयात भएको देखिन्छ । असारमा सोही अनुपातमा आयात हुँदा गत वर्ष झण्डै १६ अर्बको चामल आयात भएको देखिन्छ ।
नेपालीको मुख्य खाना भात हो । नेपालको चामल निर्यातको मुख्य स्रोत भारत हो । भारतले चामल निर्यातमा रोक लगाएपछि नेपालमा चामलको मूल्य अत्यधिक बढ्ने देखिन्छ । नेपालको उत्पादले मात्रै नेपाललाई चामल नपुग्ने देखिन्छ । तत्कालका लागि नेपालले तेस्रो मुलुकबाट चामल आयात गर्नुपर्ने देखिन्छ । नेपालका पहाडी क्षेत्रका धान उत्पादन हुने खेतहरु बाँझै राखेर भारतबाट चामल निर्यात हुँदै आएको छ । दीर्घकालीन रुपमा नेपालले आफ्नो देशको धान उत्पादन हुने जमिनको सदुपयोग गर्ने दिशामा नेपाल अघि बढ्नुको विकल्प छैन ।