धनगढी। कैलालीको घोडाघोडी नगरपालिका-७ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। वडाध्यक्षले स्थानीयहरूसँग छलफल नगरेर एकलौटी तरीकाले योजना छनोट गरेको भन्दै घोडाघोडी नगरपालिका-७ हरीनगरको वडा कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका हुन्।
आर्थिक वर्ष २०८०/०८१ को वडामा विनियोजित बजेटमा वडाध्यक्षले एकलौटी ढङ्गले छुटाएको हुँदा आफूहरूले वडा कार्यालयमा तालाबन्दी गर्न बाह्य भएको स्थानीय रागब शाहीले बताए। वडा कार्यालयले गुपचुपमा योजना छनोट गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
कृतिपुर टोलमा कान्द्रा र डोडा नदिले कटान गर्दा बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको भए पनि वडा र नगरले यो वर्षको बजेटमा कुनै योजना नछुटाएको उनीहरूको भनाई छ। कान्द्रा र डोडा नदिमा तटबन्ध नहुँदा हजारौँ जमिन कटान र बस्ती नै उच्च जोखिममा परेको उनीहरूले बताए। आफूहरूको मुख्य माग नै कान्द्रा र डोडा नदिमा तटबन्ध भएको स्थानीयले बताएका छन्।
पटक पटक वडाध्यक्ष सँग बसेर छलफल गर्दा पनि आफूहरूको मागको सुनाई नभएको उनीहरूको भनाई छ। जनताको आवश्यकता अनुसार सहमतिमा बजेट छुट्टाउन र जनगुनासोलाई सम्बोधन गर्न स्थानीयहरूको माग रहेको छ। प्रत्येक वर्ष आफूहरूलाई आश्वासन मात्र दिने गरेको तर काम भने पटक्कै नभएको स्थानीयहरू बत्ताउँछन्। वडाध्यक्ष जुगराम चौधरीले भने त्यहाँको समस्या आफूलाई अवगत भएको तर वडाको बजेटले तटबन्ध गर्न नसकिएको बताए। कान्द्रा र डोडा नदिको कटान रोक्नको लागी नगर, प्रदेश र सङ्घीय सरकारको बजेटमा मात्र काम हुने र तटबन्धन गर्न लागी परेको उनले बताए ।