धनगढी। कैलालीमा स्वास्थ्यका कर्मचारीले शुक्रबारदेखि सरकारी सेवा ठप्प पार्ने भएका छन्। यता धनगढी उपमहानगरपालिकाले स्वास्थ्यका कर्मचारी शुक्रबारदेखि हाजिर नगराए सम्पूर्ण सेवा ठप्प गर्ने जनाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत नमानेपछि निजामती कर्मचारीहरुले शुक्रबारदेखि कुनै सेवा नदिने निर्णय गरेका हुन्।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कैलालीका अध्यक्ष विमल प्रकाश जोशीले धनगढीले स्वास्थ्यकर्मीमाथि अन्याय गरेको भन्दै भोलीदेखि हाजिर गर्न नदिए सम्पूर्ण कर्मचारीले सेवा ठप्प पार्ने बताए। मन्त्रालयले पटक–पटक भन्दा समेत प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ र नगर प्रमुख गोपाल हमालले समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीहरुप्रति अन्याय गरेको उनले बताए। धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ। बिहिबार चौथो दिन पनि स्वास्थ्यकर्मीको धर्ना जारी रहेको छ।
धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य भन्दा कर्मचारीलाई कहाँबाट तलब दिने चिन्ता बढेर समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गर्न नदिएको जनाइएको छ। संघीय मन्त्रालयको जिम्मेवारी तलब दिने भएपनि उपमहानगरपालिकाले हाजिर रोक्न गलत भएको स्वास्थ्यकर्मीहरु बताउँछन्। स्वास्थ्यकर्मी कृष्णबहादुर बोहराले भने–‘तलब कहाँबाट दिने भन्दै उपमहानगरपालिकाले हामीलाई हाजिर लगाउन दिएको छैन। अहिले पनि हाम्रो धर्ना जारी रहेको उनको भनाई छ ।