कैलाली। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले भोलि (साउन ४ गते) शैक्षिक हड्तालको घोषणा गरेको छ।
अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रिय कार्यक्रम अन्तरगत शुल्क वृद्धिका विरुद्ध PCL Nursing, HA / Diploma In Pharmacy संचालित सम्पूर्ण शैक्षिक संस्थाहरुमा शैक्षिक हडताल गरिएको जनाएको छ।
अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश संयोजक पुष्कर जोशीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा असार २९ गते सिटिइभिटीले मनोमानी तरिकाले PCL Nursing, HA / Diploma In Pharmacy मा गरेको शुल्क वृद्धिको विरोधमा आम हड्तालको घोषणा गरिएको उल्लेख छ । ‘जटिल आर्थिक परिवेशमा अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरि गरिएको शुल्क वृद्धिका विरुद्ध हामी चरणबद्ध संघर्षमा छौं ।
आम जनताका छोराछोरीहरु स्वास्थ शिक्षाबाट वन्चित हुने सिटिईभिटीको उक्त कदम प्रति घोर भत्सर्ना र निन्दा व्यक्त गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ‘नाजायज र अन्यायपुर्ण तरिकाले सिटिईभिटि प्रशासन र निजी शैक्षिक संस्थाका संचालकहरु बीच भएको आर्थिक लेनदेन सहितको मिलोमतोमा शुल्क वृद्धि गरिएको कुरा ठहर गर्दै हाम्रो संगठनले देशव्यापी संघर्षको शुरुआत गरेको छ। जस अन्तर्गत यहि साउन ०४ गते हाम्रो संगठनको केन्द्रीय कार्यक्रम अनुसार देशव्यापीरुपमा PCL Nursing, HA / Diploma In Pharmacy संचालित शैक्षिक संस्थाहरुमा शैक्षिक हडतालको घोषणा गरेको छ ।
उक्त बन्दलाई भौतिक र नैतिक समर्थन गरि सहयोग गरिदिन संबंधित सबैलाई हार्दिक अनुरोध गर्दछौं ।’ विज्ञप्तीमा बन्दको अवज्ञा गर्दै अटेर गरे शसक्त प्रतिरोध गरिने उल्लेख गरिएको छ ।सिटिइभिटीले शैक्षिक सत्र २०८०/०८१ का लागि प्रमाण तह नर्सिङमा ६ लाख २४ हजार २३०, सामान्य चिकित्सामा ५ लाख २३ हजार ८२०, डिप्लोमा इन फार्मेसीमा ४ लाख २३ हजार ६६० शुल्क तोकेको थियो । जुन क्रमश; पुरानो शुल्क भन्दा PCL Nursing ३१.४२ प्रतिशत, HA २९.६६ प्रतिशत र Diploma In Pharmacy २५.७२ प्रतिशत बढी हो ।


