कञ्चनपुर। कञ्चनपुरमा नदीमा फसेका ५ बालबालिकाको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलले जोगबुढा नदीको बाढीमा फसेका दोधाराचाँदनी नगरपालिका वडा नम्बर ३ बडुवाल टोलका ५ जना बालबालिकाको उद्धार गरेको हो।
बडुवाल टोलकी १२ वर्षीया खुसी राना क्षेत्री, ९ वर्षीया सानु दमाई, ११ वर्षीया रोशनी सुनार, ९ वर्षीया भावना सुनार र १० वर्षीया मुस्कान दमाई नदीमा अचानक बाढी आएपछि बीचमै फसेका थिए। मंगलबार दिउँसो साढे १ बजेतिर गाई बाख्रा चराउन गएका उनीहरु जोगबुढा नदीमा अचानक बाढी आएपछि बीचमै फसेर अग्लो स्थानमा बसेका थिए।दोधाराचाँदनी नगरपालिका–३ स्थित मायापुरी जंगल नजिक नदीमा बालबालिका फसेको जानकारी पाएपछि सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) भीम बहादुर चन्दको कमाण्डमा १२ जनाको प्रहरी टोली खटिएको थियो। सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थानबाट डिएसपी चन्दको कमाण्डमा खटिएको टोलीले बालबालिकाको उद्धार गरेको हो। दिउँसो ३ बजे बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलको ३५ नं. गण कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले जानकारी दिए। निरन्तर वर्षाका कारण जोगबुढासँगै महाकाली नदीको जलस्तर बढेको छ।