धनगढी। कैलालीको गोदावरीबाट ३८ जना बेवारिसे अवस्थाका महिला तथा बालबालिकाको उद्धार गरिएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीको तथ्याङ्क अनुसार एक बर्षमा १३ महिला, १२ बालिका, १२ बालक र एक जना पुरुष गरी ३८ जनाको उद्धार गरीएको हो।
सो तथ्याङ्क आर्थिक वर्ष २०७९/८० अवधिको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार महिला तथा बालबालिका बेवारिसे अवस्थामा फेला पर्न थालेका हुन्। सबैभन्दा बढी महिला र त्यसपछि बालिका र बालक बेवारिस अवस्थामा फेला पर्न थालेका छन्। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले गोदावरी क्षेत्रबाट हरेक महिना तीन जना महिला तथा बालबालिका बेवारिस अवस्थामा फेला पर्ने गरेको बताए।
उनले बेवारिस अवस्थामा महिला, बालिका, बालक र पुरुष बेपत्तासँगै फेला पर्नेक्रम उत्तिकै रहेको बताए। उनले गोदावरीबाट एक वर्षको अवधिमा १ सय ५३ जना हराएको निवेदन परेकोमा ३६ जना अझै बेपत्ता रहेको जानकारी दिए। गोदावरीका विभिन्न स्थानबाट उद्धार गरिएका ३८ जना महिला तथा बालबालिका र पुरुषको विभिन्न संघसंस्थाको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख बरालले जानकारी दिए। गोदावरीबाट महिला तथा बालबालिका हराउने, बालविवाह हुने, देहत्याग गर्ने, लागुऔषधको दलदल लगायतका समस्या ठुलो चुनौति रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।